बर्दघाट एक्सपोमा विद्यालय र विद्यार्थीको सक्रिय सहभागितामा शैक्षिक गतिविधि सञ्चालन हुने

प्रकाश न्यौपाने , ७३  पटक हेरिएको

नवलपरासी,माघ ११

उद्योग व्यापार संघ बर्दघाटद्वारा आगामी माघ १३ गतेदेखि सञ्चालन हुन लागेको ‘प्रथम बर्दघाट एक्सपो–२०८२’ मा बर्दघाट नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरूको सक्रिय सहभागिता रहने भएको छ।

संघले बर्दघाटका विद्यालयका प्रधानाध्यापकहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले एक्सपोमा विद्यालय तथा विद्यार्थीहरूको तर्फबाट पूर्ण साथ र सक्रिय सहभागिता रहने प्रतिबद्धता जनाएका हुन्।

उद्योग व्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा संघको सभाहलमा सम्पन्न कार्यक्रममा एक्सपोका सांस्कृतिक तथा गोष्ठी–सेमिनार संयोजक मोहन सापकोटा, बर्दघाट नगरपालिका शिक्षा शाखा अधिकृत धनपति पौडेल तथा नगरका निजी र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।

अन्तरक्रियामा सहभागी प्रधानाध्यापकहरूले बर्दघाट नगरमै पहिलोपटक आयोजना हुन लागेको शैक्षिक गतिविधिसहितको एक्सपोले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै विद्यालय लक्षित कार्यक्रमहरू सफल बनाउन पूर्ण सहयोग रहने बताएका छन्। एक्सपोअन्तर्गत आयोजना गरिने डान्स आइडल, वक्तृत्वकला प्रतियोगिता, विज्ञान प्रदर्शनीलगायत शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमहरूमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता गराउने प्रतिबद्धता उनीहरूले जनाएका छन ।

कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका शिक्षा शाखा अधिकृत धनपति पौडेलले एक्सपोमा समावेश शैक्षिक गतिविधिहरू प्रभावकारी रूपमा सम्पन्न गर्न शिक्षा शाखाको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गरिने बताउनुभयो।

त्यसैगरी संघका अध्यक्ष राजु न्यौपानेले एक्सपोअन्तर्गत विज्ञान प्रदर्शनी प्रतियोगिता, ‘स्थानीय उद्योग र व्यापारः दिगो विकासको आधार’ विषयक वक्तृत्वकला प्रतियोगिता तथा विद्यालयस्तरीय डान्स आइडल आयोजना गरिने जानकारी दिनुभयो।

संघका वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले विद्यार्थीहरूका लागि एक्सपो प्रवेश टिकटमा विशेष छुटको व्यवस्था गरिएको जानकारी दिँदै विद्यार्थीहरूको रचनात्मक, सिर्जनात्मक सीप र कलालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमहरू तयार गरिएको उल्लेख गर्नुभयो।

प्रकाशित मिति: २०२६-०१-२५ , समय : २२:१९:०५ , २ घन्टा अगाडि