नवलपरासीमा ७३ औं विश्व कुष्ठरोग दिवस बिभिन्न कार्यक्रम गरी मनाइयो

रुपन्देही खबर , ६०  पटक हेरिएको

नवलपरासी, माघ ११

नवलपरासीमा स्वास्थ्य कार्यालय नवलपरासी, रामग्राम नगरपालिका, द ल्याप्रोसी मिसन नेपाल, फेयर मेड नेपाल र इन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाटको संयुक्त आयोजनामा ७३ औं विश्व कुष्ठरोग दिवस मनाइएको छ ।रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेको अध्यक्षता तथा स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगद बहादुर शाहीको प्रमुख आतिथ्यतामा आइतबार परासीमा ७३ औं विश्व कुष्ठरोग दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले “कुष्ठरोगका बारेमा अझै समाजमा धेरै भ्रान्ति र डर भएकोले धेरै जसो मानिसहरू उपचार ढिलो गर्नु वा लाजका कारण रोगको अवस्था गम्भीर बनाउने गरेको बताउनु भएको छ । उहाले यो रोगको समयमै उपचार गरियो भने कुष्ठरोग पूर्णरूपमा निको हुने भएकोले हामीले समुदायभित्र सचेतनामूलक अभियानलाई अझ तीव्र बनाउनु पर्ने जोड दिनु भयो । उहाले प्रत्येक नागरिकले रोगको प्रारम्भिक लक्षण देखिने बित्तिकै स्वास्थ्य संस्थामा पुगेर जाँच गराउनु पर्ने बताउदै हामी सबैले मिलेर सामाजिक लाञ्छना र भेदभाव हटाउने प्रयास गर्नु जरुरी रहेको उल्लेख गर्नु भयो ।

यस्तै गरी रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेले “स्थानीय तह र स्वास्थ्य संस्थाहरूको सहकार्यले कुष्ठरोग रोकथाम र नियन्त्रणमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने भएकोले कुष्ठरोग विरुद्धको अभियानमा जनसहभागिता नभएसम्म सफलता सम्भव नभएको जिकिर गर्नु भयो । उहाले सबै तहमा जनचेतना फैलाउनका लागी विद्यालय, सामुदायिक संस्था, र स्वास्थ्यकनर्मीहरू सक्रिय हुनुपर्नेमा जोड दिनु भयो । कुष्ठरोगीहरूप्रति हुने सामाजिक लाञ्छना र भेदभाव हटाउन हामीले ठोस कदम चाल्नु पर्ने पाण्डेको भनाइ छ । उहाले भन्नु भयो कुनै पनि व्यक्तिलाई रोगका कारण अलग राख्नुहुँदैन। रोग छिटो पत्ता लाग्ने, समयमै उपचार हुने र समाजमा सम्मानसहित जीवन यापन गर्न सक्ने वातावरण बनाउन सबैले योगदान पु¥याउनुपर्छ।”
स्वास्थ्य कार्यालयका अनुसार नवलपरासीमा हालसम्म ८७ जना कुष्ठरोगी उपचाररत छन्। चालु आर्थिक वर्षको पुष मसान्तसम्म २१ जना नयाँ कुष्ठरोगी फेला परेका छन्, जसमा १६ जना पुरुष र ५ जना महिला रहेका छन्।

पालिका अनुसार पुष मसान्तसम्म रामग्राम नगरपालिकामा ५ जना, बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिकामा १.१ जना, सुनवल नगरपालिका र सरावल गाउँपालिकामा ४.४ जना, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा ३.३ जना कुष्ठरोगी फेला परेका छन्, स्वास्थ्य कार्यालयका मेडिकल टेक्नोलोजी अधिकृत देवकीनन्दन आचार्यले जानकारी दिनु भएको छ ।

दिवसको अवसरमा “कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती” भन्ने नाराका साथ परासीमा प्रभातफेरी पनि आयोजना गरिएको थियो। द ल्याप्रोसी मिसन नेपालका प्रमुख सुमन ज्ञवालीले सचेतनामूलक जानकारीसहित प्रभातफेरी गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२६-०१-२५ , समय : २३:५४:१७ , २ घन्टा अगाडि