रुपन्देही खबर , ६५ पटक हेरिएको
भैरहवा,माघ १९
चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले योग–ध्यान शिविर सम्पन्न गरेको छ । संस्थाको १९ औँ स्थापना दिवसको अवसरमा शुक्रबार भैरहवास्थित युनिक बैंक्वेटमा उक्त शिविरको आयोजना गरिएको हो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो कार्यक्रमका रूपमा योग–ध्यान शिविर आयोजना गरिएको चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले बताउनुभयो । माघ २२ गते स्थापना दिवसको पूर्वसन्ध्यादेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष रोक्काले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको उल्लेख गर्दै स्थापना दिवसलाई स्वास्थ्य, शिक्षा, खेलकुद, वातावरण तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने कार्यक्रममार्फत मनाउने प्रयास गरिएको बताउनुभयो । स्वस्थ जीवनशैलीका लागि योग र ध्यान आवश्यक भएकाले यो कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो ।
जीवन विज्ञान परिषद् रुपन्देहीका जिल्ला संयोजक खगनाथ गैरेले स्थापना दिवसको अवसरमा योग–ध्यान शिविर आयोजना गरेकोमा चेम्बर अफ कमर्श, रुपन्देहीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योग–ध्यान अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
शिविरमा एक सय जनाभन्दा बढीको सहभागिता रहेको कार्यक्रम संयोजक तथा संस्थाका कार्यसमिति सदस्य सिकन्दर अलीले जानकारी दिनुभयो । शिविरमा सहभागीहरूलाई जीवन विज्ञानकी प्रशिक्षक माया बेल्बासेले योग–ध्यान गराउनुभएको थियो ।
यसैगरी, सप्ताहव्यापी कार्यक्रमअन्तर्गत माघ १७ गते मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, १८ गते जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण, १९ गते ओमसतिया गाउँपालिका–४ स्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा खाद्यान्न वितरण, २० गते माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, २१ गते सरसफाइ कार्यक्रम तथा २२ गते स्थापना दिवस समारोह तथा सम्मान कार्यक्रम आयोजना गरिने चेम्बर अफ कमर्श, रुपन्देहीका महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो ।
प्रकाशित मिति: २०२६-०२-०२ , समय : १०:२७:३१ , ३ घन्टा अगाडि