सुनवलबाट कांग्रेसको घरदैलो सुरु, भरत थापा मतदाता भेटघाटमा

रुपन्देही खबर , १०६  पटक हेरिएको

परासी,माघ ४

नेपाली कांग्रेसको सुनवलबाट घरदैलो कार्यक्रम आजदेखि सुरु भएको छ। चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै कांग्रेसले निर्वाचन क्षेत्र नं. २ अन्तर्गत सुनवल नगरपालिकाबाट घरदैलो अभियान थालेको हो।
सो क्षेत्रमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा सुनवल नगरपालिकाका निवर्तमान मेयर भिम बहादुर थापा (भरत थापा) आजदेखि मतदाता भेटघाटमा सक्रिय देखिनुभएको छ। आफ्ना लोकप्रिय विकास एजेन्डासहित थापा घर–घरमा पुगेर भोट माग्दै व्यस्त हुनुहुन्छ।

सुनवल नगरपालिका वडा नं. ४ को मुख्य बजार क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार थापाले चुनाव जितेपछि “समृद्ध सुनवल निर्माणका लागि सदन र पार्टीभित्र जुनसुकै लडाइँ लड्न तयार” रहेको भन्दै मतदातालाई विश्वास दिलाउनुभयो। देशमा परिवर्तन र विकासमा कांग्रेसकै प्रमुख भूमिका रहने उल्लेख गर्दै उहाँले सामाजिक, आर्थिक र भौगोलिक विकासका लागि पार्टीसँग ठोस योजना रहेको बताउनुभयो।

समृद्ध सुनवलका लागि सामाजिक र राजनीतिक विकाससँगै आर्थिक क्षेत्र उकास्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले पर्यटनलाई प्राथमिकतामा राख्नुभयो। महलपोखरी, हिलपार्क, बन वाटिका, बाबा बरगोरिया लगायत क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी सुनवललाई पर्यटन हब बनाउने घोषणा गर्नुभयो।

आज उम्मेदवार भरत थापा र समानुपातिकतर्फकी उम्मेदवार सुनिता देवी श्रेष्ठ सुनवल वडा नं. १ र ४ मा घरदैलो कार्यक्रममै व्यस्त छन्।

घरदैलो कार्यक्रमको शुभारम्भमा कांग्रेसका पार्टी सभापति अर्जुन कुमार पोख्रेल, कोषाध्यक्ष उत्तमा राय, पूर्व सभापति विष्णु पौडेल, जिका सदस्य विष्णु सुबेदी, क्षेत्रीय सभापति माधव पाण्डे, प्रदेश सभापति दिपक भुषाल, नगर सभापति सोमबहादुर रायमाझी, ट्रेड युनियन सभापति ज्ञानहरि अर्याल, तरुण दलका केन्द्रीय सदस्य माधव चापागाई, पार्टी नेता यज्ञ प्रसाद पाण्डे, मिठु केसी लगायत नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।

घरदैलो कार्यक्रममा मतदाताहरू निकै उत्साही देखिएका छन्। विकास कार्यमा राम्रो अनुभव भएका उम्मेदवार पाउँदा स्थानीयवासी थप खुशी भएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: २०२६-०२-१६ , समय : १७:०७:२० , ३ घन्टा अगाडि