पश्चिम नवलपरासीको परासीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

रामु भुसाल , १०८३  पटक हेरिएको

बैशाख ८ नवलपरासी
पश्चिम नवलपरासीको सदरमुकाम परासी रहेको बाल मन्दिरको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय एक कार्यक्रमका बीच स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत एवंम जिल्ला न्यायधिश ध्रुब कुमार शाहको अध्यक्षतामा सो कार्यालय उद्घाटन गरिएको हो । सो अवसरमा न्यायधिश शाहले निर्वाचन कार्य तालिकाबारे जानकारी दिदै नवलपरासीमा भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गराउन आफु प्रतिवद्ध रहेको बताउदै यसमा सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । सो अबसरमा बोल्दै पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले निर्वाचनमा सुरक्षाको व्यवस्थापनका लागी आफुहरु कटिवद्ध रहेको बताउदै यसमा सबै नागरिक तवर बाट पनि साथ दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सुरक्षा निकायका पदाधिकारीहरु, राजनितिक दलका पदाधिकारी, पत्रकार, निर्वाचन अधिकृत कार्यालयका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो । सो अवसरमा निर्वाचन कार्यक्रम अन्तर्गत स्थानिय तहको निर्वाचन कार्यक्रमको समय तालिका सार्वजनिक गरिएको थियो ।

साथै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी पश्चिम नवलपरासीका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जस अन्र्तगत बर्दघाट नगरपालिकामा निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेल, सुनवल नगरपालिकामा लिलाधर अधिकारीलाई तोकिएको छ । त्यस्तै, प्रतापपुर गाउपालिकामा केशवराज रिजाल, सुस्ता गाउपालिकामा खिमानन्द ज्ञवाली, पाल्हीनन्दनमा नारायण पोखरेल र सरावल गाउपालिकामा चन्द्र बहादुर सिंजालीलाई निर्वाचन अधिकृतको रुपमा तोकिएको र उहाँकै नेतृत्वमा जिल्लाका सबै पालिकामा निार्वचन अधिकृतको कार्यालयको एकै साथ उद्घाटन गरिएको हो ।

कार्यालय खुलेसँगै जिल्लाका पालिकाहरुमा निर्वाचनका लागि निर्वाचन अधिकृतले तयारी थालेका छन् । आयोगले उम्मेदवारको मनोनयनको लागि यही वैशाख ११ र १२ गतेको समय तोकेको छ । १३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारमाथि उजुरी दर्ता गर्ने दिन तोकिएको छ भने १४ र १५ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने कार्यक्रम छ ।
१६ गते उम्मेदवारले नाम फिर्ता लिने र बेलुका ५ देखि ६ बजे सम्ममा अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । साथै १७ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने निर्वाचन कार्यक्रम रहेको छ भने बैशाख ३० गते मतदान हुनेछ ।

प्रकाशित मिति: २०२२-०४-२१ , समय : २०:५९:२५ , २ वर्ष अगाडि