रुपन्देही खबर , ७५ पटक हेरिएको
भैरहवा,फागुन ७
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ अन्तर्गत रानीगाउँ क्षेत्रमा पछिल्लो समय जथाभावी फोहोर फाल्ने समस्या गम्भीर बन्दै गएको छ। मुख्य सडक, नाला तथा खोलाको किनारमा घरायसी फोहोर, प्लास्टिकजन्य सामग्री र विशेषगरी कुखुराको प्वाँख बोरामा हालेर फालिएको अवस्था देखिएको छ।

यसरी खुल्ला रूपमा फालिएको फोहोरका कारण आसपासमा अत्यन्तै दुर्गन्ध फैलिएको छ। दुर्गन्धकै कारण स्थानीय बासिन्दालाई दैनिक हिँडडुल गर्नसमेत कठिनाइ भइरहेको छ। कुखुराको प्वाँखले भरिएका बोरा कुकुरहरूले च्यात्दा सडकभरि फोहोर छरपस्ट भएको छ, जसले वातावरण झनै अस्वस्थ र प्रदूषित बनाएको स्थानीयको गुनासो छ।

त्यस्तै, खोलो र नालामा समेत फोहोर फालिएको पाइएकाले पानी प्रदूषित बन्दै गएको छ। यसले दीर्घकालीन रूपमा जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने जोखिम बढाएको स्थानीयले बताएका छन्। स्थानीय बासिन्दाले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन, निगरानी कडा गर्न र दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रकाशित मिति: २०२६-०२-१९ , समय : १८:४७:५६ , ९ घन्टा अगाडि