प्याब्सन मायादेवीको प्रथम खेल महोत्सव सम्पन्न, एभरग्रीन प्यासिफिक प्रथम

उर्मिला यादव यात्री , ७३१  पटक हेरिएको

भैरहवा,फागुन १०

निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन मायादेवी गाउपालिका रुपन्देहीले प्रथम प्याब्सन मायादेवी खेल महोत्सव २०८२ सम्पन्न गरेको छ । प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवको अध्यक्षता तथा मायादेवी गाउपालिकाका अध्यक्ष ध्रुब नारायण चौधरीको प्रमुख आतिथ्यतामा प्रथम प्याब्सन मायादेवी खेल महोत्सव २०८२ सम्पन्न भएको हो ।

खेल महोत्सवमा बोल्दै प्रमुख अतिथी चौधरीले चौधरीले शिक्षासँगै खेलकुदलाई पनि समान रूपमा प्राथमिकता दिन आवश्यक रहेको बताउनुभएको छ । उहाँले खेलकुदले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती मात्र नभई मानसिक सन्तुलन, अनुशासन र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याउने धारणा राख्नुभयो । “विद्यालय तहदेखि नै खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्न सके स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गर्न सकिन्छ,” उहाँले भन्नुभयो । साथै, गाउँपालिकाले आगामी दिनमा खेलकुद पूर्वाधार विकास तथा यस्ता रचनात्मक कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तैगरी विशिष्ट अतिथि प्याब्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष महेश भुर्तेलले निजी विद्यालयहरूले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभएको छ । उहाँले खेलकुदले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना, सहकार्यको भावना र आत्मविश्वास वृद्धि गर्ने उल्लेख गर्दै प्याब्सनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाले प्याब्सन मायादेवीले उदाहरणीय कार्य गर्दै आएकोले लुम्बिनी प्रदेशले सम्मानका लागी सिफारिस गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

एन–प्याब्सन सिद्धार्थनगरका अध्यक्ष अमित यादवले खेलकुद कार्यक्रमले विद्यालयहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विद्यार्थीहरूलाई पुस्तकमा मात्र सीमित नराखी व्यवहारिक जीवनका सीपहरू सिकाउन खेलकुद महत्वपूर्ण माध्यम हुने भएको बताउनु भएको छ । उहाले प्याब्सन मायादेवीले गर्दै आएका क्रियाकलाप एकदमै उदाहरणीय भएको बताउदै खेलमा हारजित हुने भएकोले बिद्यार्थीहरुलाई थप उर्जाका साथ खेल खेल्दै अगाडी बढन आग्रह गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रममा बोल्दै प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवले पहिलो पटक आयोजना गरिएको खेल महोत्सवले अपेक्षाभन्दा बढी उत्साह र सहभागिता प्राप्त गरेको बताउनुभएको छ । उहाँले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि प्याब्सन प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी वर्षहरूमा अझ व्यापक र व्यवस्थित रूपमा खेल महोत्सव आयोजना गरिने जानकारी दिनुभयो ।

यस्तै गरी स्वागत मन्तव्य राख्दै कार्यक्रम संयोजक विष्णु थापाले खेल महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, शिक्षक, अभिभावक, खेलाडी विद्यार्थी तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्नुभएको थियो । उहाँले सीमित स्रोतसाधनका बाबजुद पनि सबैको साथ र सहयोगले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।

१३ वटा बिद्यालयहरुले सहभागिता रहेको खेल महोत्सव कार्यक्रममा १६ वटा खेलहरु भएका थिए । जसमा एभरग्रीन प्यासिफिक इंगलिस हाइस्कुल मायादेवी ७ रुपन्देही प्रथम भएको छ

भने एभरेष्ठ मोर्डन इंगलिस स्कुल मायादेवी ३ शुक्रौली द्धितीय र सरस्वती एजुकेश्नल इंगलिस बोडिडंग स्कुल मायादेवी १ धमौली तृतीय स्थान हासिल गरेको छ । प्रतियोगितामा बिजयी बिद्यार्थीहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरी सम्मान गरिएको छ भने खेल महोत्सवमा सहभागी बिद्यालयहरुलाई समेत मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।

मायादेवी प्याब्सनका सचिव बिरजु नाथ सिंहले संचालन गर्नु भएको कार्यक्रममा प्याब्सन मायादेवीका संस्थापक अध्यक्ष भरत गिरी, प्याब्सनका जिल्ला सदस्य चन्द्रिका चाई, प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिक, मायादेवी गाउपालिका वडा नम्बर ७ का वडाध्यक्ष शैलेन्द्र कुमार पाण्डेय लगायत अभिभावक, शिक्षक, विद्यार्थीहरूको उत्साहपूर्वक सहभागिता रहेको थियो । खेल महोत्सवअन्तर्गत एथलेटिक्स, दौड, रिले दौड, भलिबल, लङ जम्प, हाई जम्प लगायतका विभिन्न खेलहरु कडा प्रतिस्पर्धाका बिच सम्पन्न भएका थिए ।

प्रकाशित मिति: २०२६-०२-२३ , समय : ००:१४:२२ , २ महिना अगाडि