मणिग्राममा प्राध्यापक सबलीकरण गोष्ठी सम्पन्न

प्रविधि र परिणाममुखी शिक्षणमा जोड

रुपन्देही खबर , ८६  पटक हेरिएको

मणिग्राम,चैत्र ३

रूपन्देहीको राममणि बहुमुखी क्याम्पस मा प्राध्यापकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने गोष्ठी मंगलबार सम्पन्न भएको छ। ‘प्राध्यापकहरूका लागि शिक्षण विधि र सूचना प्रविधि’ विषयक कार्यशालामा त्रिभुवन विश्वविद्यालय का सह–प्राध्यापक विष्णुप्रसाद वाग्ले र उपप्राध्यापक उज्ज्वल अधिकारीले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा सह–प्राध्यापक वाग्लेले बदलिँदो समयअनुसार विद्यार्थीको मनोविज्ञानलाई बुझेर परिणाममुखी शिक्षण पद्धति अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले प्रभावकारी शिक्षणका लागि नवीन विधि र व्यवहारिक दृष्टिकोण आवश्यक रहेको बताउनुभयो।
त्यस्तै, उपप्राध्यापक अधिकारीले तीव्र रूपमा विकास भइरहेको सूचना प्रविधिलाई शिक्षण प्रक्रियामा समेट्दै सीपयुक्त जनशक्ति उत्पादनमा जोड दिनुपर्ने धारणा राख्नुभयो।

गोष्ठी उद्घाटनका क्रममा क्याम्पस सञ्चालक समितिका सदस्य तारानाथ कण्डेलले यस्ता कार्यक्रमले प्राध्यापकहरूको प्राज्ञिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले परिणाममुखी शिक्षण सिकाइ चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै समयानुकूल प्राध्यापन शैली अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो।

प्रकाशित मिति: २०२६-०३-१७ , समय : १२:५३:१७ , २ घन्टा अगाडि