रुपन्देही खबर , ८४ पटक हेरिएको
मणिग्राम, चैत ३
रूपन्देहीको तिलोत्तमा–५ स्थित राममणि बहुमुखी क्याम्पसले आफ्नो ३८औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले राममणि क्याम्पसले यस क्षेत्रको शैक्षिक तथा समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले क्याम्पसलाई नगरको प्रतिष्ठासँग जोडिएको संस्था उल्लेख गर्दै आगामी दिनमा थप सहकार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा क्याम्पसद्वारा वार्षिक रूपमा प्रकाशन गरिने मुखपत्र “दीपिका” को २१औं अङ्क विमोचन गरिएको थियो, जसमा विद्यार्थी र प्राध्यापकका लेख रचना तथा क्याम्पसको आयव्यय विवरण समेटिएको छ। वार्षिकोत्सवको अवसरमा क्याम्पसको नतिजा सुधारमा उल्लेखनीय योगदान पुर्याउने प्राध्यापक तथा कर्मचारीलाई दोसल्ला, सम्मानपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। साथै, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। खेलउत्सवका विजेताहरूलाई पनि प्रमाणपत्र र पदकसहित सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै सञ्चालक समिति अध्यक्ष ध्रुवकुमार धिताल र उपाध्यक्ष कृष्णप्रसाद पौडेलले क्याम्पसमा अत्याधुनिक पुस्तकालय निर्माणको काम अगाडि बढिरहेको जानकारी दिँदै आगामी दिनमा थप प्राविधिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए।
क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक क्याम्पसका रूपमा राममणिले भोगिरहेका चुनौती र सम्भावनाबारे प्रकाश पार्नुभयो।
उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व क्याम्पस प्रमुख मोहनराज शर्मा, प्राध्यापक संघका सभापति राजेन्द्र थापा, क्याम्पस सभा सदस्य सुरेन्द्रकुमार वर्मा तथा शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने लगायतले क्याम्पसको थप स्तरोन्नतिमा सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
वार्षिकोत्सवकै अवसरमा विद्यार्थीहरूले तयार पारेका प्राविधिक परियोजनाको प्रदर्शनी पनि आयोजना गरिएको थियो, जसको अवलोकन अतिथि, अभिभावक तथा विद्यार्थीहरूले गरेका थिए। कार्यक्रममा दर्जनौं विद्यार्थीहरूले कविता, गीत, गजल, नाटक तथा नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
प्रकाशित मिति: २०२६-०३-१७ , समय : १४:५८:५१ , २ घन्टा अगाडि