रुपन्देही खबर , ८६ पटक हेरिएको
भैरहवा, चैत ३
रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच तीव्र बनाउँदै अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामानहरू नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज सञ्चालन गरेको अभियानका क्रममा कुल रु. ५ लाख ३२ हजार ६ सय २० रुपैया बराबरका सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदहबाट रु. ८२ हजार ५ सय रुपैया बराबरका विभिन्न तरकारी बरामद गरिएको छ भने मायादेवी गाउँपालिका–५ पर्सहवाबाट रु. १० हजार ५०० बराबरको २० केजी बोइलर कुखुरा बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै गरी सिद्धार्थनगर नगरपालिका–७ कासी कम्प्लेक्स नजिकबाट रु. २ लाख ४३ हजार बराबरको ४८६ मिटर कपडा बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै गरी लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ ओडवलियाबाट रु. ४८ हजार ७ सय मुल्य बराबरको १६० केजी केरा, १४ थान साडी र ३८ पिस ब्लाउज कपडा नियन्त्रणमा लिइएको छ ।
यस्तै गरी कोटहिमाई गाउँपालिका–७ कटैयाबाट रु. १० हजार ९सय मुल्य बराबरका साइकलका पार्टपुर्जा बरामद भएका छन् भने सिद्धार्थनगर–६ दुर्गा कॉलोनीबाट रु. १ हजार ८५० बराबरको ४० केजी केरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यसैगरी, लुम्बिनी सांस्कृतिक नगरपालिका–१ खुनगाईबाट रु. ४९ हजार ५०० बराबरको चिनी, सरफ, बिस्कुट, स्याम्पु लगायतका किराना सामग्री बरामद गरिएको छ। सिद्धार्थनगर–१ बेलहिया, कोटहिमाई मन्दिर नजिकबाट रु. ८५ हजार ७०० बराबरका लेडिज सुट, निक्सोडन क्रिम र किसमिस समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहियामा पठाइएको जिल्ला प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०३-१७ , समय : १५:३१:२६ , २ घन्टा अगाडि