रुपन्देही खबर , ८३ पटक हेरिएको
भैरहवा, चैत ५
रुपन्देहीको मायादेवी गाउँपालिका–४ स्थित लुम्बिनी शिक्षा निकेतनमा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । कक्षा ४ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागितामा आयोजित प्रदर्शनीमा २२ समूहले विभिन्न वैज्ञानिक तथा प्राविधिक विषयमा तयार पारेका सिर्जनात्मक परियोजनाहरू प्रस्तुत गरेका थिए ।

बिहान १० बजेदेखि दिउँसो ३ः३० बजेसम्म सञ्चालन भएको प्रदर्शनीमा विद्यार्थीहरूले नवप्रवर्तन, प्रयोगात्मक ज्ञान तथा सिर्जनात्मक क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रतियोगितामा कक्षा ९ कोरलका युवराज गुप्ताको समूह, कक्षा ७ जेमका धिरज यादवको समूह, कक्षा ६ कोरलका पिहु बानियाको समूह, कक्षा ५ जेमका शिवम जयसवालको समूह तथा कक्षा ४ जेमका मोहम्मद अम्मर खानको समूह कक्षागत रूपमा उत्कृष्ट घोषित भएका छन्। साथै, कक्षा ९ जेमका इमरान मुसलमानको प्राविधिक प्रस्तुति सर्वोत्कृष्ट ठहरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा उत्कृष्ट समूहहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने सबै सहभागी विद्यार्थीहरूलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रबन्ध निर्देशक पिताम्बर न्यौपानेले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा वैज्ञानिक सोच, प्रविधिमैत्री व्यवहार र नवप्रवर्तनशील क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । उहाँले भविष्यमा अझ परिस्कृत र व्यवहारिक परियोजनाहरू विकास गर्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभएको थियो ।

त्यसैगरी, विद्यालयका प्राचार्य नामदेव अर्यालले यस्ता गतिविधिले विद्यार्थीहरूमा अनुसन्धानमुखी सोच विकास गर्ने र समाज रूपान्तरणमा विज्ञान तथा प्रविधिको योगदान बढाउने धारणा व्यक्त गर्नुभएको थियो । प्राचार्य अर्यालको अध्यक्षता तथा प्रबन्ध निर्देशक न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय सञ्चालक बोर्ड सदस्य नसिम अख्तर खान, मा.वि. तह संयोजक सुनिल कुमार यादव, अतिरिक्त क्रियाकलाप प्रमुख श्याम मोहन यादव लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन विज्ञान प्रयोगशाला संयोजक दिलिप कुमार कोँहारले गर्नुभएको थियो।

प्रदर्शनीको मूल्याङ्कन शिक्षकहरू डिएनटी यादव, मन्जित हरिजन र लेलिन भुर्तेलले गर्नुभएको थियो। प्रदर्शनीमा विद्यालयका अन्य विद्यार्थीहरूले समेत अवलोकन गरी वैज्ञानिक ज्ञानप्रति चासो अभिवृद्धि गरेका थिए ।
प्रकाशित मिति: २०२६-०३-१९ , समय : १८:५५:४० , २ घन्टा अगाडि