पशुपति शिक्षा मन्दिरमा नमुना संसदीय अभ्यास कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ३३  पटक हेरिएको

रुपन्देही, कार्तिक १६

हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा पशुपति शिक्षा मन्दिरमा नमुना संसदीय अभ्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यार्थीहरूमा संसदीय प्रक्रिया, लोकतान्त्रिक अभ्यास, नेतृत्व क्षमता, अभिव्यक्ति कला तथा राजनीतिक चेतनाको विकास गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न विद्यालयका गरी कुल ६५ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कालिका विद्यालयका पूर्व विद्यार्थी अध्यक्ष तथा नेसनल ल कलेजमा कानून अध्ययनरत संजोग न्यौपानेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपालका पंकज शर्माले सभाध्यक्षता गर्नुभएको थियो।

कार्यक्रममा रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य  डा. लेख जंग थापा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी रुपन्देही नागरिक समाजका अध्यक्ष अमित गुप्ता, अभियन्ता नारायणप्रसाद भण्डारी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।

कार्यक्रमले विद्यार्थीहरूलाई संसदीय अभ्यासको व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै नेतृत्व, तार्किक क्षमता, सार्वजनिक वक्तृत्वकला र जिम्मेवार नागरिक बन्ने प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।

विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न यस कार्यक्रमले युवा पुस्तामा लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र सामाजिक उत्तरदायित्वप्रतिको समझ विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-११-०२ , समय : १३:१९:०७ , १ घन्टा अगाडि