कर्मचारीको क्षमता अभिवृद्धिका लागि राममणि क्याम्पसमा कार्यशाला सम्पन्न

रुपन्देही खबर , ६८  पटक हेरिएको

मणिग्राम, चैत ११

रुपन्देहीको राममणि बहुमुखी क्याम्पसमा कार्यरत कर्मचारीहरूको पेशागत क्षमता अभिवृद्धि तथा पुनर्ताजगी गर्ने उद्देश्यले एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा सहजकर्ताहरूले कर्मचारीहरूको कार्यकुशलता अभिवृद्धि गर्ने विषयमा सहजीकरण गर्दै व्यवहारिक अभ्याससमेत गराएका थिए। क्याम्पसका लेखाशाखा प्रमुख विष्णुप्रसाद भुसालका अनुसार कार्यक्रममा पेशागत दक्षता बढाउने विविध पक्षहरूबारे अन्तरक्रियात्मक छलफल गरिएको थियो।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलका अधिकृत फर्शुराम पोख्रेल र क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेले पेशागत दक्षताका लागि आवश्यक पूर्वतयारी, निरन्तर अभ्यास तथा जिम्मेवारीबोधबारे प्रशिक्षण दिएका थिए।

सविता रेग्मीको सञ्चालन र सुमित्रा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन गर्दै क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्दा व्यक्तिगत तथा संस्थागत दुवै पक्षलाई लाभ पुग्ने उल्लेख गर्नुभयो।

यसअघि आयोजित उद्घाटन सत्रमा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे, व्यवस्थापन संकाय प्रमुख राजेन्द्र थापा तथा शिक्षा तथा मानविकी संकाय प्रमुख लक्ष्मण खरेललगायतले पेशागत दक्षताको महत्वबारे धारणा राख्नुभएको थियो। कार्यक्रममा क्याम्पसका विभिन्न तह तथा विभागमा कार्यरत कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२६-०३-२५ , समय : ०९:१६:४० , २ घन्टा अगाडि