गुणस्तरीय शिक्षामा अग्रसर युनिक पब्लिक बोर्डिङ स्कुलको दोस्रो वार्षिकोत्सव सम्पन्न

उर्मिला यादव यात्री , १४५  पटक हेरिएको

भैरहवा, चैत १३

रुपन्देहीको ओमसतिया–४ ठुलो बालापुरस्थित युनिक पब्लिक बोर्डिङ स्कुलको दोस्रो वार्षिकोत्सव विविध कार्यक्रमका बिच सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष ओमप्रकाश यादवको अध्यक्षता तथा एन–प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष बाबुराम बन्जाडेको प्रमुख आतिथ्यतामा बिहीबार एक कार्यक्रमका बिच दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बन्जाडेले विद्यालयले छोटो अवधिमै हासिल गरेको उपलब्धि अत्यन्तै प्रशंसनीय र उदाहरणीय रहेको बताउनुभएको छ । उहाले सीमित स्रोतसाधनका बाबजुद विद्यालयले देखाएको प्रगति र शैक्षिक सुधारप्रतिको प्रतिबद्धताले अन्य शैक्षिक संस्थाहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाले विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक तथा विद्यार्थीबीचको घनिष्ठ सहकार्य र समन्वयबाट मात्र गुणस्तरीय तथा प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्न सकिने स्पष्ट पार्दै यस्तो सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाले शिक्षाको गुणस्तर सुधार केवल पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक ज्ञान, अनुशासन, नैतिकता र सीपमूलक शिक्षासँग जोडिनुपर्ने बताउदै यसका लागि सबै पक्षको सक्रिय भूमिका अनिवार्य हुने उल्लेख गर्नु भयो ।

प्रमुख अतिथी बन्जाडेले नेपालको समग्र शिक्षा क्षेत्रमा निजी विद्यालयहरूले पु¥याउँदै आएको योगदानलाई उच्च मूल्यांकन गर्दै, शैक्षिक पहुँच विस्तार, गुणस्तर अभिवृद्धि र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाले निजी विद्यालयहरूले केवल नाफामुखी दृष्टिकोणभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व बहन गर्दै राष्ट्रको शैक्षिक विकासमा योगदान दिनुपर्ने धारणा पनि व्यक्त गर्नु भयो ।

उहाले आगामी दिनमा युनिक पब्लिक बोर्डिङ स्कुलले अझ व्यवस्थित योजना, प्रविधिमैत्री शिक्षण पद्धति, दक्ष शिक्षकको विकास र विद्यार्थीको समग्र व्यक्तित्व विकासमा ध्यान केन्द्रित गर्दै अघि बढ्नुपर्ने सुझाव दिनु भएको छ । साथै यस्ता प्रयासले विद्यालयलाई केवल स्थानीय स्तरमा मात्र नभई जिल्ला तथा प्रदेश स्तरमै एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै बिद्यालयका प्राचार्य मनोज जिसीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनबीचको सहकार्य अत्यन्तै महत्वपूर्ण र अपरिहार्य रहेको बताउनु भयो । उहाले शिक्षालाई केवल कक्षाकोठाभित्र सीमित नराखी व्यवहारिक, सिर्जनशील र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उहाले आगामी दिनमा आधुनिक प्रविधिसँग जोडिएको शिक्षा प्रणाली, दक्ष जनशक्ति उत्पादन र विद्यार्थीको समग्र व्यक्तित्व विकासमा केन्द्रित रहने योजना समेत सार्वजनिक गर्नु भयो ।

प्राचार्य जिसीले अभिभावकहरूको भूमिकालाई विशेष महत्व दिँदै आफ्ना बालबालिकाप्रति घरमै पनि पर्याप्त ध्यान दिन आग्रह गर्नु भएको छ । उहाले अभिभावकहरूले समय नदिँदा बालबालिकाहरू गलत दिशातर्फ जान सक्ने जोखिम रहने उल्लेख गर्दै बालबालिकाको चरित्र निर्माण, अनुशासन र उज्ज्वल भविष्यका लागि अभिभावकको सक्रिय सहभागिता अनिवार्य रहेको बताउनु भयो ।

उहाले बालबालिकाको समुचित विकासका लागि विद्यालय मात्र होइन, घरपरिवार पनि उत्तिकै जिम्मेवार हुने भन्दै अभिभावकहरूलाई आफ्ना सन्तानको शिक्षा, व्यवहार र भविष्यप्रति सजग रहन तथा कुनै पनि अवस्थामा पछि नहट्न आग्रह गर्नु भएको छ ।

त्यसैगरी समाजसेवी लक्ष्मण पन्थीले कार्यक्रममा बोल्दै शिक्षा केवल विद्यालयमा मात्र सीमित नहुने उल्लेख गर्दै अभिभावकहरूले आफ्ना बालबालिकालाई घरमै पनि आवश्यक मार्गदर्शन र समय दिनुपर्नेमा जोड दिनु भएको छ । उहाले बालबालिकाको व्यवहार, अध्ययन र दैनिक क्रियाकलापप्रति अभिभावक सचेत हुनुपर्ने बताउँदै आफ्ना सन्तान कहाँ छन्, के गर्दैछन् भन्ने विषयमा नियमित चासो राख्न आग्रह गर्नु भएको छ । उहाले अभिभावकको निगरानी र माया–ममता नै बालबालिकाको सही मार्गनिर्देशनको आधार भएकोले आफना बालबालिकाहरुलाई घरमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्नु भयो ।

यस्तै गरी समाजसेवी मुमताज अहमदले पछिल्लो समय विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि घट्दै गएको र अनुशासनमा कमी देखिन थालेकोप्रति चिन्ता व्यक्त गर्नु भएको छ । उहाले यस्तो अवस्थालाई सुधार गर्न अभिभावकहरूले घरमै विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । शिक्षा बिना जीवन अपूर्ण हुने उल्लेख गर्दै उहाले आफ्ना बालबालिकालाई नियमित अध्ययनमा प्रेरित गर्न, अनुशासनमा राख्न र उज्ज्वल भविष्यतर्फ डो¥याउन अभिभावकहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ ।

यसैगरी विद्यालयका अध्यक्ष ओमप्रकाश यादवले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा विद्यालयलाई अझ उत्कृष्ट, व्यवस्थित र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाले सबै पक्षको सहकार्य, सहयोग र विश्वासकै कारण विद्यालयले छोटो समयमा उल्लेखनीय प्रगति गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा अझ उच्च लक्ष्यका साथ अघि बढ्ने जोड दिनु भयो ।

कार्यक्रममा कक्षा ७ का विद्यार्थी राजकुमार यादवको स्वागत मन्तव्य रहेको कार्यक्रम संचालन ब्राइट स्टार इङलिस बोर्डिङ सेकेण्डरी स्कुल, रानीगाउँका कक्षा ९ का विद्यार्थी प्रल क्षेत्री र जैनव पठानले गर्नु भएको थियो कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले नृत्य, गीत, नाटक लगायतका सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।


कार्यक्रमका शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा ल्याउने, अनुशासित, नियमित तथा अतिरिक्त क्रियाकलापमा सक्रिय विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो । साथै विद्यालयको समग्र विकासमा योगदान पु¥याउने शिक्षक, कर्मचारी, समाजसेवी लगायतलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा ब्राइट स्टार इंगलिस बोडिंग सेकेण्डरी स्कुल सिनपा १ रानीगाउं रुपन्देहीको प्रबन्ध निर्देशक अमित यादव, मोर्डन पब्लिक स्कुलका बरिष्ठ सल्लाहकार तथा ब्राइट स्टार इंगलिस बोडिंग स्कुल सिनपा १ रानीगाउका प्राचार्य एल.बि, रौतार, मोर्डन पब्लिक स्कुलका प्रबन्ध निर्देशक तथा ब्राइट स्टार इंगलिस बोडिंग स्कुलका सहप्राचार्य राहुल यादव, मोडर्न पब्लिक स्कुल भैरहवाका प्राचार्य मुकेश यादव, ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुलका को–अर्डिनेटर नारायण कश्यप, अनामिका जब लिंकका प्रबन्धक अनामिका यादव, लगायत बिद्यार्थी, बिद्यालयका शिक्षक ,अभिभावक लगायत सरोकारवाला निकायका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२६-०३-२७ , समय : ०९:४५:३७ , १ घन्टा अगाडि