प्रधानमन्त्रीको निर्देशनपछि बल्ल चले लुम्बिनीका विद्युतीय बस, वर्षौंको बेवास्ता अन्त्य

रुपन्देही खबर , १२६  पटक हेरिएको

भैरहवा, चैत १८

बुद्ध जन्मस्थल लुम्बिनीमा साढे पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेका विद्युतीय बसहरू अन्ततः सञ्चालनमा आएका छन्। लुम्बिनी विकास कोषका सदस्य सचिव इन्जिनियर दीपक श्रेष्ठका अनुसार बुधबारदेखि एउटा बस औपचारिक रूपमा सञ्चालन गरिएको हो ।

उहाका अनुसार भारतीय सीमा नाकाबाट लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै पहिलो चरणमा एउटा बस चलाइएको छ भने अर्को बस पनि ब्याट्री परिवर्तनपछि छिट्टै सञ्चालनमा ल्याइने तयारी भइरहेको छ।

एसियाली विकास बैंक ले करिब साढे पाँच वर्षअघि ५ वटा विद्युतीय बस र १४ वटा भ्यान उपलब्ध गराए पनि लामो समयसम्म ती साधन प्रयोगविहीन अवस्थामा राखिएका थिए । करिब २१ करोड रुपैयाँ बराबरको ती सवारी साधन सञ्चालन नगरी छाडिँदा विकास कोष र सरकारको व्यापक आलोचना हुँदै आएको थियो ।

यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरण ले ती बसहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा सार्ने तयारी गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले चासो देखाएको थियो। सोही कार्यालयबाट सोमबार तत्काल बस सञ्चालन गर्न मौखिक निर्देशन आएपछि बुधबारदेखि सेवा सुरु गरिएको हो ।

हाल बस सञ्चालनका लागि जनशक्ति अभाव देखिएको छ । विकास कोषसँग साना गाडीका लागि दुई जना चालक मात्र रहेको र बसका लागि आवश्यक दक्ष चालक अभाव हुँदा अस्थायी रूपमा एक जनाले जिम्मेवारी सम्हालिरहेका छन्। दीर्घकालीन रूपमा चालक र सहचालक नियुक्ति गर्नुपर्ने कोषले जनाएको छ।

त्यस्तै, हालको अवस्थामा यात्रुबाट भाडा उठाउन कानुनी जटिलता रहेको छ। नेपालमा पर्यटक सवारीका लागि हरियो नम्बर प्लेट अनिवार्य भए पनि त्यस्ता गाडी सार्वजनिक रुटमा चलाउँदा भाडा लिन नपाइने व्यवस्था छ। त्यसैले प्रारम्भिक चरणमा स्वैच्छिक सहयोग (डोनेसन बक्स वा क्यूआर कोड) मार्फत सेवा सञ्चालन गरिने र पछि कार्यविधि बनाएर व्यवस्थित ढंगले सञ्चालन गरिने योजना रहेको छ।

एडिबीको सहयोगमा उपलब्ध गराइएका यी बसहरू वातानुकूलित, अपाङ्गतामैत्री, स्वचालित ढोका र कार्ड भुक्तानी प्रणालीसहित १९ सिट क्षमताका छन् भने भ्यानहरू पाँच सिट क्षमताका छन्। तर, लामो समयसम्म खुला आकाशमुनि राख्दा बसहरूमा क्षति पुगेको छ भने केही भ्यान मर्मतयोग्य अवस्थाबाट समेत बाहिर पुगेका छन्।

लुम्बिनीको पर्यटन प्रवद्र्धन र वातावरणीय संरक्षणका लागि ल्याइएका यी विद्युतीय सवारी साधन अन्ततः सञ्चालनमा आउनु सकारात्मक भए पनि ढिलाइका कारण राज्यको स्रोत र अवसर दुवै खेर गएको भन्दै आलोचना भने अझै कायम छ ।

प्रकाशित मिति: २०२६-०४-०१ , समय : २०:३५:४९ , १ घन्टा अगाडि