रुपन्देही खबर , ९७ पटक हेरिएको
तिलोत्तमा,चैत २३
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विद्यालय स्तरोन्नतिका लागि मर्जर प्रक्रिया तथा कानुनी छात्रवृत्तिसम्बन्धी प्रतिवेदन हस्तान्तरण गरिएको छ। नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालसहित विषयगत समितिका संयोजक तथा कार्यपालिकाका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विषयगत समितिका संयोजक सुरेन्द्र श्रीले प्रतिवेदन तयार पार्दै त्यसको समग्र व्याख्या गर्नुभएको थियो। त्यसैगरी तिलोत्तमा–६ का वडाअध्यक्ष तथा समितिका संयोजक गणेश पाठकले प्रतिवेदन तयार गर्ने क्रममा भएका गतिविधि र अध्ययनका विषयमा प्रकाश पार्नुभयो।
कार्यक्रममा प्रस्तुत प्रतिवेदनमाथि आफ्नो धारणा राख्दै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले नगरप्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो।
प्रतिवेदनमा विद्यालयहरूको गुणस्तर अभिवृद्धिका लागि केही सामुदायिक विद्यालय मर्जर गर्ने, शैक्षिक विकासका लागि बजेट, नीति तथा कार्यक्रममा प्राथमिकता दिने, कार्यान्वयनका उपायहरू अवलम्बन गर्ने तथा कानुनी छात्रवृत्ति व्यवस्थालाई सामुदायिक र संस्थागत विद्यालयमा पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने सम्बन्धमा सुझावहरू समेटिएका छन्। नगरपालिकाले उक्त प्रतिवेदन कार्यान्वयनमार्फत शिक्षा क्षेत्रमा सुधार आउने विश्वास व्यक्त गरेको छ। कार्यक्रम शिक्षा अधिकृत धनी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।
प्रकाशित मिति: २०२६-०४-०६ , समय : २१:३४:२२ , २ घन्टा अगाडि