रुपन्देही खबर , ७७ पटक हेरिएको
रुपन्देही, चैत २३
रुपन्देहीको ओमसतिया ६, नरैनापुरस्थित श्री शमशेर स्मृति आधारभुत विद्यालयको आफ्नो २० औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८२ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश प्रसाद हरिजनको अध्यक्षता तथा ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रमका बिच २० औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले शिक्षा नै राष्ट्र विकासको प्रमुख आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा बिना समृद्ध समाजको कल्पना गर्न नसकिने बताउनुभयो। उहाँले भन्नुभयो, “शिक्षाले मात्र व्यक्तिलाई सक्षम, सचेत र जिम्मेवार नागरिक बनाउँछ, त्यसैले प्रत्येक बालबालिकाले गुणस्तरीय शिक्षा पाउनुपर्छ।”

उहाँले सामुदायिक (सरकारी) र संस्थागत विद्यालयबीच देखिएको गुणस्तर अन्तरलाई गम्भीर चुनौतीका रूपमा औँल्याउँदै यसलाई कम गर्न स्थानीय सरकार, विद्यालय प्रशासन, शिक्षक, अभिभावक र समुदायबीचको समन्वय अपरिहार्य रहेको बताउनुभयो। “शिक्षा क्षेत्रको सुधार एक पक्षले मात्र सम्भव हुँदैन, सबैको साझा प्रयास आवश्यक हुन्छ,” उहाँले जोड दिनुभयो ।

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै स्थानीय तहले भौतिक पूर्वाधार निर्माण, प्रविधिमैत्री शिक्षण प्रणालीको विकास र दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष ध्यान दिइरहेको जानकारी दिँदै उहाँले विद्यालयहरूलाई आधुनिक, प्रतिस्पर्धी र गुणस्तरीय बनाउने दिशामा काम भइरहेको उल्लेख गर्नुभयो।

उहाँले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक ज्ञान, सीपमूलक शिक्षा तथा नैतिक मूल्य–मान्यतासहितको शिक्षामा जोड दिनुपर्नेमा विशेष ध्यानाकर्षण गराउनुभयो। “आजको शिक्षा केवल परीक्षा पास गर्ने माध्यम नभई जीवन उपयोगी सीप सिकाउने माध्यम हुनुपर्छ,” उहाँले भन्नुभयो।

विद्यार्थी जीवनमा अनुशासनको महत्व उल्लेख गर्दै उहाँले भन्नुभयो, “विद्यार्थीको सबैभन्दा ठूलो गहना अनुशासन हो।” पढाइसँगै अनुशासन र संस्कार विकास गर्न विद्यालय र अभिभावक दुवै उत्तिकै जिम्मेवार हुनुपर्ने बताउँदै बालबालिका गलत संगतमा पर्न सक्ने भएकाले अभिभावकले निरन्तर निगरानी र मार्गदर्शन गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले ओमसतिया गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि विभिन्न पहलहरू अघि बढाइरहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक बलिराम यादवले विद्यालयले विगत २० वर्षदेखि निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनु भयो । उहाले विद्यालयको उपलब्धिमा शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य मुख्य आधार रहेको जोड दिनु भयो । उहाँले पछिल्लो समय शिक्षण पद्धतिमा आएको परिवर्तनसँगै विद्यालयलाई समयानुकूल बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले आगामी दिनमा विद्यालयलाई अझ आधुनिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको जानकारी दिँदै डिजिटल शिक्षण प्रणालीको विस्तार, दक्ष तथा अनुभवी शिक्षकको व्यवस्थापन, र विद्यार्थीमैत्री वातावरण निर्माणमा विशेष जोड दिइने बताउनुभयो। साथै विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप, अनुशासन, नेतृत्व विकास तथा नैतिक शिक्षामा समेत उत्तिकै प्राथमिकता दिएको स्पष्ट पार्नुभयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै ओमसतिया वडा नं. ६ का वडाध्यक्ष शिव कुमार धवलले स्थानीय तहबाट शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउँदै विद्यालयको भौतिक संरचना, शिक्षण सामग्री र अन्य आवश्यक सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो “स्थानीय सरकार शिक्षा क्षेत्रमा मात्र नभई विद्यार्थीको सर्वाङ्गीण विकासमा पनि योगदान पु¥याउन चाहन्छ। विद्यालयको समग्र प्रगति र गुणस्तरीय शिक्षाका लागि हामी सबै तहबाट सहयोग गर्दै जानेछौं।”

वडाध्यक्ष धवलले थप्नुभयो कि, वडाले विद्यार्थीसँग प्रत्यक्ष संवाद र भेटघाट कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ, जसबाट बालबालिकाका आवश्यकताहरू बुझ्न र उनीहरूको समस्या समाधान गर्न सहयोग पुग्नेछ। उहाँले यस्तो पहलले विद्यालय र वडाबीचको सम्बन्धलाई अझ मजबुत बनाउने र विद्यार्थीहरूको सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
यस्तै गरी गाउपालिका शिक्षा शाखा प्रमुख माधव राज पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यालयमा अनुशासन, नियमितता र प्रभावकारी शिक्षण विधिमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले सामुदायिक विद्यालयलाई अझ प्रतिस्पर्धी बनाउन नवीन शैक्षिक कार्यक्रमहरू लागू गर्नुपर्नेमा जोड दिनुभयो।

यस्तै गरी विद्यालयका सल्लाहकार अम्बर सिंह चौधरीले विद्यालयको विकासमा ठूलो योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले नयाँ सवारीसाधन खरिदका लागि साढे तीन लाख रुपैयाँ सहयोग गर्ने आश्वासन दिनुभयो। उहाँले भन्नुभयो, “विद्यालयको प्रगति शिक्षक र विद्यार्थी मात्र होइन, समुदाय र सल्लाहकारको सक्रिय सहभागिताबाट सम्भव हुने भएकोले सवारीसाधनले आवतजावत सजिलो बनाउने मात्र नभइ गुणस्तरीय शिक्षा प्रवाहमा पनि सहयोग पु¥याउने बिश्वास ब्यक्त गर्नु भएको छ ।
कार्यक्रममा बिद्यालयका शिक्षक सरिता यादवको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितीका पुर्व अध्यक्ष मात्रिका प्रसाद चमार, समाजसेवी श्याम बहादुर चौधरी, विद्यालयका सल्लाहकार देवेन्द्र पाण्डे, विद्यालयका सल्लाहकार तथा समाजसेवी पशुपति यादव विद्यालय सँस्थापक सदस्य धर्मदेव धवल, सामाजिक अमरजित कोहार , कक्षा ६ का विद्यार्थी लक्ष्मण भुज, कक्षा ८ को विद्यार्थी करिश्मा नाउ लगायतले शुभकामना मन्तब्य राख्नु भएको छ । कार्यक्रममा भुपु शिक्षक शिव पुजन बरुणलाई दोसल्ला ओढाई बिदाइ समेत गरिएको थियो । भने दिब्य ज्योति मुख पत्र २०८२ पहिलो अंकको समेत बिमोचन गरिएको थियो । यस्तै गरी कार्यक्रममा सन्त राम पासीले आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो ।

भने कार्यक्रमका शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा ल्याउने, अनुशासित, नियमित तथा अतिरिक्त क्रियाकलापमा सक्रिय विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो । भने विद्यालयको शैक्षिक बिकासमा अहोरात्र खटी योगदान गरेका शिक्षकहरुलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो । भने विद्यालयका शिक्षक, कर्मचारी, तथा समाजसेवी लगायतलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले नृत्य, गीत, लगायतका सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।भने कार्यक्रम संचालक बिद्यालयका सहायक प्रधानाध्यापक बिजय हरिजनले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२६-०४-०६ , समय : २२:४४:१० , २ घन्टा अगाडि