आजदेखि दोस्रो आर्थिक गणना सुरु, ५ हजार जनशक्ति परिचालन

रुपन्देही खबर , ७४  पटक हेरिएको

भैरहवा,वैशाख २

देशभर आजदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय का अनुसार गणनाका लागि खटिएका गणक तथा सुपरिवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्।

निर्धारित कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आउँदो असारको पहिलो साताभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ। यसका लागि देशभर करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ। अर्थ मन्त्रालय ले आर्थिक क्षेत्रको यथार्थ अवस्था प्रतिबिम्बित गर्ने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेको छ।

गणनामा उद्योग, व्यापार, सेवा, सहकारी, निजी तथा सार्वजनिक संस्थासहित आर्थिक क्षेत्रका १८ वटा सूचकसम्बन्धी विवरण सङ्कलन गरिनेछ। यस क्रममा दर्ता भएका र नभएका साना–ठूला व्यवसाय, उद्योग, कलकारखाना, गैरसरकारी संस्था, विद्यालय र अस्पतालसमेत समेटिनेछन्।

गणनाको तयारीस्वरूप पूर्वचरणका काम फागुन मसान्तमै सम्पन्न भइसकेका छन्। चैत महिनादेखि देशभर ७७ जिल्लामा थप सातसहित ८४ वटा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ, जुन असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।

यसअघि २०७५ सालमा गरिएको पहिलो आर्थिक गणनाले देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो।

प्रकाशित मिति: २०२६-०४-१५ , समय : ०९:४०:४७ , २ घन्टा अगाडि