भैरहवामा मालपोतका कर्मचारी घूस रकम सहित पक्राउ

रुपन्देही खबर , ९९  पटक हेरिएको

भैरहवा,वैशाख ४

सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा एक कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई नियन्त्रणमा लिएको हो।

सर्जमिन मुचुल्का सम्बन्धी काम छिटो र सहज बनाइदिने आश्वासन दिँदै सेवाग्राहीसँग रकम माग गरेको सूचनापछि अख्तियारले निगरानी बढाएको थियो। सोही क्रममा बुटवलबाट खटिएको टोलीले उनलाई दुई लाख रुपैयाँ घूससहित भैरहवा बजार क्षेत्रबाट रंगेहात पक्राउ गरेको जनाएको छ।

अख्तियारका अनुसार सेवाग्राहीको उजुरीलाई आधार मानेर योजना बनाइ अपरेशन सञ्चालन गरिएको थियो। रकम लिने क्रममा उनी पक्राउ परेका हुन्। पक्राउपश्चात् उनको साथबाट बरामद गरिएको नगद प्रमाणका रूपमा राखिएको छ।

हाल मगरलाई नियन्त्रणमा लिएर बुटवलस्थित अख्तियार कार्यालयमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ। अख्तियारले यस्ता अनियमितता विरुद्ध नागरिकलाई सचेत रहन र प्रमाणसहित उजुरी दिन आग्रह गर्दै आएको छ।

प्रकाशित मिति: २०२६-०४-१७ , समय : २२:५९:२२ , २ घन्टा अगाडि