तिलोत्तमामा फुटपाथ खाली गर्न व्यवसायी संघको आग्रह

रुपन्देही खबर , ७२  पटक हेरिएको

तिलोत्तमा,बैशाख १०

रुपन्देहीको तिलोत्तमा नगर क्षेत्रमा फुटपाथ अतिक्रमण बढ्दै जाँदा पैदल यात्रुहरू प्रभावित हुन थालेपछि सरोकारवालाहरू सक्रिय भएका छन्। तिलोत्तमा नगरपालिकाको वैशाख ३ गतेको सूचनालाई आधार मानेर तिलोत्तमा व्यापार संघ (चेम्बर अफ कमर्स) ले फुटपाथमा राखिएका अवैध संरचना, निर्माण सामग्री, ठेलागाडा तथा पसलका सामान हटाउन आग्रह गरेको हो।

संघको वैशाख ६ गते बसेको बैठकले सडक सीमाभित्र राखिएका यस्ता सामग्रीका कारण पैदल यात्रुलाई आवतजावतमा समस्या भएको र शहरी सौन्दर्यमा समेत नकारात्मक असर परेको निष्कर्ष निकालेको छ। संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेद्वारा जारी सूचनामा नगरलाई स्वच्छ, सफा, व्यवस्थित र सुन्दर बनाउन सबै व्यवसायी र घरधनीको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।

सूचनामा तोकिएको मितिदेखि ७ दिनभित्र सडक सीमा मिचेर राखिएका सम्पूर्ण सामग्री तथा संरचना सम्बन्धित व्यक्तिले स्वयं हटाउन अनुरोध गरिएको छ। अन्यथा नगरपालिकाको नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।
व्यापार संघले नगर क्षेत्रलाई व्यवस्थित बनाउन सबै पक्षसँग सहयोगको अपिल गरेको छ।

प्रकाशित मिति: २०२६-०४-२३ , समय : २०:४७:४५ , २ घन्टा अगाडि