रुपन्देही खबर , ५७ पटक हेरिएको
काठमाण्डौ,बैशाख १७
अधिकतम खुद्रा मूल्य (एमआरपी) को विषयले जाँचपास प्रभावित भएको छ । उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा सहभागी नहुँदा वीरगञ्ज भन्सारलगायत देशका विभिन्न ठाउँका भन्सार कार्यालयबाट राजश्व सङ्कलन प्रभावित भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयले आयातित एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन् । आयातकर्ता भन्सार जाँचपास गर्न फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सहभागी नहुँदा भन्सार जाँचपास रोकिएको हो ।
उद्यमी–व्यवसायीको असहयोगका कारण राजस्व सङ्कलन प्रभावित भएको सम्बन्धित कार्यालयले जनाएको छ । सरकारले केही दिनअघि भन्सार विन्दुमा आएका सबै किसिमका उत्पादनमा अनिवार्य रूपमा एमआरपी लागू गर्ने निर्णय गरेको थियो । वीरगन्ज भन्सार कार्यालयले दैनिक ५० देखि ६० करोडसम्म राजस्व सङ्कलन गर्दै आएकोमा अहिले प्रभावित भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्णप्रसाद मैनालीले बताउनुभएको छ ।
यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले एमआरपी अव्यावहारिक भएकाले आफूहरू भन्सार जाँचपास प्रक्रियामा सहभागी नभएको बताउनुभएको छ ।
प्रकाशित मिति: २०२६-०४-३० , समय : ०८:३२:०५ , २ घन्टा अगाडि