रुपन्देही खबर , ४० पटक हेरिएको
रुपन्देही,वैशाख २७
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ३ अन्तर्गत लक्ष्मीपुर गाउँ हुँदै भेलाइ सम्म कालोपत्रे सडक निर्माण कार्य अघि बढाइएसँगै सडक विस्तार क्षेत्रमा पर्ने संरचना हटाउन गाउँपालिकाले डोजर प्रयोग गरी साइट क्लियरेन्स अभियान सञ्चालन गरेको छ।

सडकको दायाँ–बायाँ पर्ने निर्माण क्षेत्रमा रहेका अवरोध हटाउन गाउँपालिकाले पटक–पटक सूचना जारी गर्दै स्थानीयलाई सहयोग गर्न आग्रह गरेको थियो। तर, केही व्यक्तिले अटेरी गरेपछि आज गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवको नेतृत्वमा डोजर प्रयोग गरी साइट क्लियरेन्स कार्य अगाडि बढाइएको हो।

गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवले विकास निर्माणको काममा कसैको अवरोध स्वीकार्य नहुने स्पष्ट पार्दै सडक निर्माणले समग्र क्षेत्रकै विकासमा टेवा पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीयवासीलाई पटक–पटक जानकारी गराउँदा पनि केही व्यक्तिले अटेरी गर्नुभयो। विकासको काम रोक्नुभन्दा कानुनी प्रक्रिया अनुसार साइट क्लियरेन्स गर्नु आवश्यक भयो। यो सडक निर्माण भएपछि स्थानीय नागरिकलाई वर्षौंदेखिको सास्ती अन्त्य हुनेछ।”
उहाँले विकास निर्माणका योजनामा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सार्वजनिक हितका काममा अवरोध नगर्न समेत आग्रह गर्नुभयो।

गाउँपालिकाका अनुसार उक्त सडक निर्माण भएपछि स्थानीय नागरिकलाई आवतजावतमा सहज हुनुका साथै व्यापार, कृषि उत्पादनको ढुवानी तथा समग्र ग्रामीण विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। साइट क्लियरेन्सका क्रममा जनप्रतिनिधि, प्राविधिक टोली, सुरक्षाकर्मी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२६-०५-१० , समय : १५:१०:२९ , ४७ मिनेटutes अगाडि