रुपन्देही खबर , ४५ पटक हेरिएको
काठमाण्डौ,वैशाख ३०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले विद्यालयहरूको नयाँ कार्य तालिका निर्धारण गर्दै हप्तामा दुई दिन बिदा कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को गएको चैत २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र–२०८३ देखि विद्यालयमा शनिबार र आइतबार सार्वजनिक बिदा लागू हुने भएपछि मन्त्रालयले पठनपाठनको समय व्यवस्थापनसम्बन्धी नयाँ परिपत्र जारी गरेको हो । परिपत्र शिक्षा विकास तथा समन्वय इकाई, सबै स्थानीय तह तथा विद्यालयहरूमा पठाइएको जनाइएको छ ।
नयाँ व्यवस्थाअनुसार अब विद्यालयहरूले स्वीकृत पाठ्यक्रमले तोकेको कार्य घण्टा पूरा हुने गरी समय तालिका मिलाउनुपर्नेछ । प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय अनिवार्य रूपमा व्यवस्थापन गर्नुपर्नेछ भने सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठन तथा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ ।
यसअघि ४५ दिन कायम रहेको हिउँदे तथा वर्षे बिदा अब घटाएर ३० दिनमा सीमित गरिएको छ । यस्तै, शैक्षिक सत्रको अन्तिम १२ दिन अन्तिम परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनका लागि छुट्याइएको छ । केन्द्रले सिकाइलाई व्यवहारिक र प्रभावकारी बनाउन प्रत्येक शुक्रबार समुदाय तथा परिवारसँग सम्बन्धित क्रियाकलाप, सूचना प्रविधिको उपयोग, सन्दर्भ सामग्री अध्ययन तथा बहुविषयमा आधारित परियोजना एवं प्रयोगात्मक कार्य सञ्चालन गर्न पनि विद्यालयलाई निर्देशन दिएको छ । आवश्यकताअनुसार विद्यार्थीलाई प्रस्तुति गर्ने अवसरसमेत उपलब्ध गराउन भनिएको छ ।
परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्र को वेबसाइटमा रहेको ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ प्रयोग गर्न सकिने केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०५-१३ , समय : ०७:४४:२९ , ५७ मिनेटutes अगाडि