रुपन्देही खबर , ४९ पटक हेरिएको
भैरहवा, जेठ २
रूपन्देहीको सिद्धार्थनगर ८ शिवपथ भैरहवामा अवस्थित मोर्डन पब्लिक स्कुलले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ । शनिबार भैरहवामा आयोजित विशेष सम्मान कार्यक्रममा विद्यालय प्रशासनले यस वर्षको नतिजा सार्वजनिक गर्दै विद्यालयले आफ्नो ३० वर्षे इतिहासमै सबैभन्दा उत्कृष्ट उपलब्धि हासिल गरेको जनाएको हो ।
विद्यालयका अनुसार यस वर्ष एसइई परीक्षामा सहभागी १७ जना विद्यार्थीमध्ये सबै विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये १५ जनाले ए प्लस ग्रेड प्राप्त गरेका छन् भने एक जना विद्यार्थीले ४.०० जिपिए ल्याउन सफल भएका छन्। अन्य विद्यार्थीले पनि ए ग्रेड प्राप्त गरेको विद्यालयले जनाएको छ । उत्कृष्ट नतिजासँगै विद्यालयले सिद्धार्थनगर नगरपालिकाभित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालयको रूपमा आफूलाई स्थापित गरेको दाबी गरेको छ ।
कार्यक्रममा ब्राइट स्टार इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुल र सिद्धार्थ एकेडेमी को संयुक्त आयोजनामा एसइई तथा आधारभूत तह परीक्षा (बीएलई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई खादा, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।
विद्यालयका प्राचार्य अमित यादव ले विद्यालयले निरन्तर गुणस्तरीय शिक्षामा जोड दिँदै आएको र त्यसकै परिणामस्वरूप यस वर्ष ऐतिहासिक सफलता प्राप्त भएको बताउनु भयो । उहाले विद्यार्थीको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको सहयोगकै कारण विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउनु भयो ।
“विद्यालयको ३० वर्षको इतिहासमा पहिलो पटक यस्तो नतिजा आएको हो। यसले हामीलाई अझ जिम्मेवार र उत्साहित बनाएको छ,” प्राचार्य यादवले भन्नु भयो । उहाले आगामी वर्षहरूमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताउनु भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यालयले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट नतिजा कायम राख्न शुभकामना दिएका थिए।
प्रकाशित मिति: २०२६-०५-१६ , समय : २३:१९:५२ , ५६ मिनेटutes अगाडि