एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्याब्सन सिद्धार्थनगरद्वारा सम्मान

रुपन्देही खबर , ४७  पटक हेरिएको

भैरहवा, जेठ ४

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरले माध्यमिक शिक्षा परीक्षा एसइई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रममा बिच एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्याब्सन सिद्धार्थनगरमा आबद्ध २६ विद्यालयमध्ये १८ विद्यालयका ७८५ विद्यार्थीमध्ये ६७५ विद्यार्थी उत्तीर्ण भएका छन ।

सम्मान कार्यक्रममा १८ विद्यालयका करिब ३०० विद्यार्थीलाई ३.२ जिपिएभन्दा माथि ल्याएको आधारमा सम्मान गरिएको थियो भने २ जना विद्यार्थीले ४ जिपिए ल्याएर विशेष सफलता हासिल गरेका छन्।


कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले विद्यार्थीलाई अनावश्यक दबाब नदिन आग्रह गर्नु भएको छ । उहाले शिक्षा केवल उच्च अङ्क ल्याउने माध्यम मात्र नभई असल र सफल व्यक्ति बन्ने आधार भएको बताउनु भयो । सिद्धार्थनगर नगरपालिकाका निजी तथा सामुदायिक विद्यालयले गुणस्तर सुधार गर्दै अघि बढेको भन्दै नगर प्रमुख अधिकारीले सिद्धार्थनगरलाई शैक्षिक हब बनाउने लक्ष्यका साथै लगानी गरिरहेको उल्लेख गर्नुभयो । गुणस्तरीय शिक्षासँगै संस्कार र सीपसहितको शिक्षा आवश्यक रहेकोमा जोड दिँदै उपप्रमुख अधिकारीले सिद्धार्थनगरको शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

त्यसैगरी प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले विद्यार्थीको सफलता केवल व्यक्तिगत मेहनतको उपलब्धि मात्र नभई अभिभावकको निरन्तर साथ, शिक्षकको समर्पित मार्गदर्शन, विद्यालयको शैक्षिक वातावरण तथा समाज र राज्यको सहकार्यको संयुक्त प्रतिफल भएको बताउनुभयो । उहाँले विद्यार्थीलाई सही दिशा, सकारात्मक सोच र अनुशासित वातावरण प्रदान गर्न सके उत्कृष्ट नतिजा हासिल गर्न कठिन नहुने धारणा राख्नुभयो ।

उहाँले एसइईमा सफल भएका विद्यार्थीहरूलाई बधाई दिँदै नतिजालाई अन्तिम गन्तव्य नभई थप जिम्मेवारी र अवसरको सुरुवातका रूपमा लिन आग्रह गर्नुभयो । आगामी दिनमा अझ मेहनत, लगनशीलता र आत्मविश्वासका साथ अध्ययनलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै उहाँले असफल वा नन–ग्रेड भएका विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्नुभयो ।

अध्यक्ष मल्लिकले हरेक विद्यार्थीमा फरक क्षमता र सम्भावना हुने भएकाले एक पटकको नतिजाले भविष्य निर्धारण नगर्ने बताउनुभयो । उहाँले विद्यालय, शिक्षक र अभिभावकले विद्यार्थीको मनोबल उच्च राख्दै थप सुधारका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । साथै आगामी वर्षहरूमा प्याब्सन सिद्धार्थनगरले शैक्षिक गुणस्तर अभिवृद्धि, अतिरिक्त क्रियाकलाप तथा सीपमूलक शिक्षामा अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष मल्लिकका अनुसार हाल सिद्धार्थनगरको उत्तीर्ण (ग्रेडिङ) प्रतिशत ८६ प्रतिशत रहेको छ भने करिब १४ प्रतिशत विद्यार्थी नन–ग्रेड भएका छन्।

सम्मानित विद्यार्थीहरूले आफ्नो सफलताको श्रेय निरन्तर मेहनत, शिक्षकहरूको प्रभावकारी मार्गदर्शन र अभिभावकको प्रेरणा तथा सहयोगलाई दिएका छन् । कार्यक्रममा बोल्ने अधिकांश विद्यार्थीहरूले नियमित अध्ययन, समयको सही व्यवस्थापन, अनुशासन र आत्मविश्वासका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको अनुभव सुनाएका थिए ।

उनीहरूले परीक्षा अवधिमा विद्यालयले उपलब्ध गराएको शैक्षिक वातावरण, शिक्षकहरूको हौसला र अभिभावकको निरन्तर साथले आफूहरूलाई लक्ष्य हासिल गर्न थप प्रेरणा मिलेको बताएका छन् । केही विद्यार्थीले कठिन विषयमा निरन्तर अभ्यास, समूह अध्ययन तथा दैनिक पुनरावृत्तिले राम्रो नतिजा ल्याउन सहयोग पुगेको अनुभव पनि साझा गरेका थिए ।

विद्यार्थीहरूले आगामी दिनमा पनि अध्ययनलाई निरन्तरता दिँदै अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनीहरूले आफ्नो सफलता केवल व्यक्तिगत उपलब्धि नभई विद्यालय, परिवार र सम्पूर्ण नगरकै गौरवको विषय भएको उल्लेख गर्दै भविष्यमा देश र समाजका लागि उपयोगी नागरिक बन्ने लक्ष्यसहित अघि बढ्ने बताएका छन् ।

प्रकाशित मिति: २०२६-०५-१८ , समय : ०९:४१:४७ , १ घन्टा अगाडि