उर्मिला यादव यात्री , ६१ पटक हेरिएको
भैरहवा, जेठ १३
श्री सूर्यदेव माध्यमिक विद्यालय, सिद्धार्थनगर–१० दोगहरी, रुपन्देहीले “मेरो विद्यालय मेरो दायित्व” कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार कोइरीको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा मंगलबार एक कार्यक्रमका बिच “मेरो विद्यालय मेरो दायित्व” कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सामुदायिक विद्यालयलाई गुणस्तरीय, प्रविधिमैत्री तथा प्रतिस्पर्धी बनाउन सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताउनु भएको छ । उहाले “मेरो विद्यालय मेरो दायित्व” जस्ता कार्यक्रमले विद्यालयप्रति अभिभावक, विद्यार्थी तथा समुदायको अपनत्व बढाउने विश्वास व्यक्त गर्नु भयो ।
उहाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि स्थानीय सरकारले विभिन्न योजनामार्फत सहयोग गर्दै आएको उल्लेख गर्दै विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक वातावरण र अतिरिक्त क्रियाकलापलाई थप प्रभावकारी बनाउने दिशामा नगरपालिका गम्भीर रहेको बताउनु भयो । उपप्रमुख अधिकारीले शिक्षकको मेहनत, अभिभावकको चासो र विद्यार्थीको अनुशासनले मात्र विद्यालयलाई उत्कृष्ट बनाउन सकिने धारणा राख्नु भएको थियो ।
यस्तैगरी कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक भरत गिरीले विद्यालयप्रति सबैको उत्तरदायित्व बोध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाले विद्यालय केवल शिक्षक र विद्यार्थीको मात्रै नभई सम्पूर्ण समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण, विकास र गुणस्तर अभिवृद्धिमा सबैको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नु भयो ।

प्रधानाध्यापक गिरीले विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर सुधार, अतिरिक्त क्रियाकलाप सञ्चालन, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा अनुशासन कायम गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । उहाले आगामी दिनमा विद्यालयलाई नमुना सामुदायिक विद्यालयका रूपमा विकास गर्ने लक्ष्यसहित अगाडि बढिरहेको बताउनु भयो ।

यस्तै गरी सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख हरि बहादुर बिष्टले सामुदायिक विद्यालयहरूलाई समयानुकूल र व्यवहारिक शिक्षामा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाले अहिलेको शिक्षा प्रणाली केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई व्यवहारिक, प्राविधिक तथा सीपमूलक हुनुपर्ने धारणा राख्नु भयो ।
उहाले विद्यार्थीमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व तथा नैतिक शिक्षाको विकास गर्न विद्यालयको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै शिक्षक, अभिभावक र स्थानीय तहबीचको समन्वयले मात्र शैक्षिक सुधार सम्भव हुने बताउनु भयो । बिष्टले विद्यालय सुधारका लागि सरकारले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नु भयो ।
यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुर्जमान यादवले विद्यालयको विकासका लागि वडा कार्यालय सधैं सकारात्मक रहेको बताउनु भयो । उहाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न पूर्वाधार विकाससँगै शैक्षिक वातावरण सुधारमा समेत ध्यान दिनुपर्ने बताउनु भयो ।
वडाध्यक्ष यादवले विद्यालयलाई समुदायसँग प्रत्यक्ष जोडेर अघि बढाउन सके मात्र सामुदायिक विद्यालयप्रति विश्वास बढ्ने उल्लेख गर्दै वडा कार्यालयले आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यस्तै गरी सामूहिक विद्यालय परिवारका अध्यक्ष तथा प्याब्सन नेपालका पूर्व केन्द्रीय अध्यक्ष विष्णु प्रसाद पन्थीले शिक्षा क्षेत्रको विकासका लागि सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य आवश्यक रहेको भयो । उहाले प्रतिस्पर्धाभन्दा सहकार्य, अनुभव आदानप्रदान र साझा लक्ष्यका साथ अघि बढे शिक्षा क्षेत्र अझ सुदृढ बन्ने धारणा राख्नु भयोे ।

उहाले विद्यार्थीलाई केवल परीक्षा केन्द्रित शिक्षा नभई व्यवहारिक, नैतिक तथा जीवनोपयोगी शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउँदै शिक्षकको भूमिका समाज निर्माणसँग प्रत्यक्ष जोडिएको बताउनु भयो । पन्थीले विद्यालयप्रति अभिभावकको विश्वास र समुदायको सहभागिता बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नु भयो ।
यस्तै गरी रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख मोतीलाल सुवेदीले विद्यालय तहदेखि नै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सके उच्च शिक्षामा सकारात्मक परिणाम प्राप्त हुने बताउनु भएको छ । उहाले अहिलेको समयमा विद्यार्थीलाई सिर्जनशील, अनुसन्धानमुखी तथा जिम्मेवार नागरिकका रूपमा विकास गर्न आवश्यक रहेको धारणा राख्नु भएको थियो ।
उहाले शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई व्यक्तिको व्यक्तित्व विकास र समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै विद्यालयले विद्यार्थीको क्षमता पहिचान गरी त्यसअनुसार अवसर प्रदान गर्नुपर्ने बताउनु भयो ।
यस्तैगरी कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी वरिष्ठ शिक्षा अधिकृत जान्हवी पाण्डेले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय सरकारले विभिन्न योजना र कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनु भयो । उहाले विद्यालय, अभिभावक र समुदायबीच बलियो सहकार्य कायम भए मात्र शिक्षाको गुणस्तरमा दीर्घकालीन सुधार ल्याउन सकिने बताउनु भयो ।
उहाले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, शिक्षकको क्षमता अभिवृद्धि तथा विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउन नगरपालिका निरन्तर सक्रिय रहेको उल्लेख गर्नु भयो । साथै उहाले सामुदायिक विद्यालयप्रति समाजको सकारात्मक धारणा निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नगर उपप्रमुख उमा अधिकारीले बिद्यालयले १ लाख रुपैया बराबरको बिद्यालय सामग्री प्रदान गर्ने प्रतिबद्धता गर्नु भएको छ भने । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुर्जमान यादवले ६५ हजार रुपैया, सामुदायिक बिद्यालयका महिला प्रधनाध्यापकहरुबाट ६ हजार रुपैया ,सूर्यदेव माध्यमिक विद्यालय, सिद्धार्थनगर–१० दोगहरीका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रामकुमार कोइरीले १० हजार ५ सय रुपैया, बिद्यालयका सहायक प्रअ सालिकराम ज्ञवालीले २ हजार ५ सय रुपैया, सामुहिक बिद्यालय परिवारबाट ५ हजार रुपैया, प्याब्सन लुम्बिनी प्रदेश कोषाध्यक्ष महेश भुर्तेलले ६ हजार रुपैया, सामूहिक विद्यालय परिवारका अध्यक्ष तथा प्याब्सन नेपालका पूर्व केन्द्रीय अध्यक्ष विष्णु प्रसाद पन्थीले बिद्यालयलाई ४ वटा पंखा, बालबहिरा मा.बि का प्रअ भिम थापाले २ वटा पंखा, शिक्षक गंगालाल जैसीले ३ हजार ३ सय ३५ रुपैया बिद्यालयलाई आर्थिक सहयोग गर्नु भएको थियो ।
भने सिद्धार्थनगर नगरपालिकाका सहायक लेखापाल सीता खनालले कक्षा १० को बिद्यार्थी शिला कोइरीको सम्पुर्ण पढाई खर्च ब्यहोर्ने प्रतिबद्धता गर्नु भएको छ ।

विद्यालयले “मेरो विद्यालय मेरो दायित्व” कार्यक्रममार्फत विद्यालयप्रति समुदायको अपनत्व अभिवृद्धि गर्ने, शैक्षिक गुणस्तर सुधार गर्ने तथा विद्यालय विकासमा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने उद्देश्य राखेको जनाएको छ । कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरेको कार्यक्रम संचालक शिक्षक गंगालाल जैसीले जानकारी दिनु भयोे । कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्व, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२६-०५-२७ , समय : १०:०९:३८ , १ घन्टा अगाडि