रामग्राम–१६ मा उत्कृष्ट विद्यार्थी सम्मानित, वडाध्यक्ष यादवद्वारा साइकलसहित शैक्षिक सामग्री वितरण

रुपन्देही खबर , ८१  पटक हेरिएको

भैरहवा,जेठ १७

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामै उत्कृष्ट अंक ल्याउने कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई रामगा्रम नगरपालिका वडा नम्बर १६ वडाध्यक्ष बिजय कुमार यादवले सम्मान गर्नु भएको छ । रामग्राम नगरपालिका वडा नम्बर १६ वडाध्यक्ष बिजय कुमार यादवको अध्यक्षता तथा समाजसेवी देवेन्द्र यादवको प्रमुख आतिथ्यतामा शनिवार एक कार्यक्रमका बिच २४ जना बिद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा २०८२ को एसइई परीक्षामा ४ जिपिए ल्याउने प्याराडाइज इङलिस बोर्डिङ स्कुल रामग्राम १६ का सुशान्त यादव, २०८२ को बिएलइमा ४ जिपिए ल्याउने ज्ञान ज्योति इङलिस बोर्डिङ स्कुलका आर्दश सिंह र सोही बिद्यालयको २०८१ को बिएलइ परीक्षामा ४ जिपिए ल्याउने समिक्षा यादवलाई साइकल ,झोला, सहित शैक्षिक सामग्री प्रदान गरी सम्मान गरिएको थियो ।भने अन्य बिद्यार्थीहरुलाई समेत झोला र शैक्षिक सामग्री प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवेन्द्र यादवले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको बताउनुभयो । उहाँले मेहनत, अनुशासन र लगनशीलताले विद्यार्थीहरुलाई सफलताको शिखरसम्म पुर्याउने उल्लेख गर्दै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बधाई दिनुभयो । उहाँले समाजमा सकारात्मक परिवर्तन ल्याउन शिक्षित पुस्ताको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले स्थानीय तहका जनप्रतिनिधिहरुले शिक्षा क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले शैक्षिक वातावरण थप सुदृढ बन्ने बताउनुभयो । साथै अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यले मात्रै गुणस्तरीय शिक्षा सम्भव हुने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष बिजय कुमार यादवले रामग्राम नगरपालिकामै उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले विद्यार्थीहरुको मेहनत र सफलताले वडा तथा नगरको पहिचान उचो बनाएको उल्लेख गर्नुभयो ।

वडाध्यक्ष यादवले शिक्षा क्षेत्रको विकासका लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा मेहनती विद्यार्थीहरुलाई समेत सहयोग गर्ने योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा जनता मावि, प्याराडाइज इङलिस बोर्डिङ स्कुल तथा ज्ञान ज्योति इङलिस बोर्डिङ स्कुलका गणित शिक्षक रामनरेश यादवले बोल्दै रामग्राम नगरपालिकाका १८ वटा वडामध्ये वडा नम्बर १६ शैक्षिक विकासको क्षेत्रमा अग्रस्थानमा रहन सफल हुनुमा वडाध्यक्ष बिजय कुमार यादवको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

उहाँले शिक्षा क्षेत्रप्रति वडाध्यक्ष यादवको विशेष चासो, सक्रियता र सकारात्मक सोचका कारण वडा नम्बर १६ मा शैक्षिक वातावरण दिनप्रतिदिन सुधार हुँदै गएको उल्लेख गर्नुभयो । “स्थानीय तहका जनप्रतिनिधिहरुले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखे परिणाम पनि राम्रो आउँछ,” उहाँले भन्नुभयो, “आज वडा नम्बर १६ का विद्यार्थीहरुले हासिल गरेको सफलता त्यसैको प्रतिफल हो ।”

रामनरेश यादवले रामग्राम नगरपालिकाभित्र धेरै ठूला तथा स्रोतसाधन सम्पन्न विद्यालयहरु रहे पनि अपेक्षित शैक्षिक गुणस्तर हासिल गर्न नसक्नुमा स्थानीय जनप्रतिनिधिहरुको शिक्षा क्षेत्रप्रतिको उदासीनता मुख्य कारण भएको धारणा राख्नुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि केवल भौतिक संरचना निर्माण मात्रै पर्याप्त नहुने बताउँदै गुणस्तरीय शिक्षाका लागि नियमित अनुगमन, शिक्षक–विद्यार्थीको प्रोत्साहन र अभिभावकसँगको समन्वय आवश्यक पर्ने बताउनुभयो ।

उहाँले वडा नम्बर १६ मा शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै विद्यार्थीहरुलाई सम्मान, विद्यालयहरुको सहयोग, शैक्षिक कार्यक्रम सञ्चालन तथा अभिभावकसँग निरन्तर समन्वय गर्ने कार्यले सकारात्मक परिणाम दिएको उल्लेख गर्नुभयो । “जहाँ जनप्रतिनिधिको चासो हुन्छ, त्यहाँ विकास स्वतः अगाडि बढ्छ,” उहाँले भन्नुभयो, “वडा नम्बर १६ आज शिक्षाको क्षेत्रमा उदाहरण बन्न सफल भएको छ ।”

यादवले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्नुले अन्य विद्यार्थीहरुमा पनि प्रतिस्पर्धात्मक भावना विकास हुने बताउँदै यस्ता कार्यक्रमले शिक्षाप्रति आकर्षण बढाउने धारणा व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई पढाइसँगै अनुशासन, नैतिकता र व्यवहारिक ज्ञानमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले आगामी दिनमा पनि वडा नम्बर १६ लाई शैक्षिक दृष्टिकोणले अझ उत्कृष्ट बनाउने अभियानमा सबै शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा स्थानीयवासी एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

त्यसैगरी ज्ञान ज्योति इङलिस बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक सन्तबहादुर चौधरीले विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गरेर विद्यालय परिवारलाई गौरवान्वित बनाएको बताउनुभयो । उहाँले विद्यार्थीहरुको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई विद्यालय, अभिभावक र समग्र समुदायको पनि साझा गर्वको विषय भएको उल्लेख गर्नुभयो ।

उहाँले निरन्तर मेहनत, अनुशासन र शिक्षकहरुको मार्गदर्शनका कारण विद्यार्थीहरुले उत्कृष्ट सफलता हासिल गर्न सकेको धारणा राख्नुभयो ।
प्रधानाध्यापक चौधरीले वर्तमान समयमा शिक्षा क्षेत्रमा तीव्र प्रतिस्पर्धा बढिरहेको उल्लेख गर्दै केवल उच्च अंक ल्याउनु मात्रै पर्याप्त नहुने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षासँगै अनुशासन, नैतिकता, सामाजिक उत्तरदायित्व र सकारात्मक सोचको विकास पनि उत्तिकै आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
चौधरीले विद्यालयले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास तथा व्यक्तित्व विकासका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुलाई सिर्जनशील, आत्मविश्वासी र समाजप्रति उत्तरदायी बनाउन विद्यालय निरन्तर लागिरहेको बताउनुभयो ।

उहाँले स्थानीय तहले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्दै प्रोत्साहन गरेको कार्य अत्यन्त सकारात्मक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुमा थप ऊर्जा र प्रेरणा थप्ने धारणा राख्नुभयो । उहाँले वडाध्यक्ष बिजय कुमार यादवले व्यक्तिगत पहलमा गरेको सम्मान कार्यक्रम अन्य जनप्रतिनिधिका लागि समेत उदाहरणीय कार्य भएको जोड बताउनुभयो । यसले बिद्यार्थी,समाज र अभिभावकमा समेत नया उत्साह आउने बताउदै प्रधानाध्यापक चौधरीले आगामी दिनमा विद्यालयले अझ उत्कृष्ट शैक्षिक नतिजासहित गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीहरुलाई निरन्तर मेहनत गर्न र आफ्नो लक्ष्यप्रति केन्द्रित रहन सुझाव दिनुभयो ।

यस्तै गरी प्याराडाइज इङलिस बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक राम सुरत आरकले वडाध्यक्ष बिजय कुमार यादवले विद्यार्थीहरुलाई गर्नु भएको सम्मान अत्यन्त प्रेरणादायी र उदाहरणीय कार्य भएको बताउनुभयो । उहाँले विद्यार्थीहरुको मेहनत, लगनशीलता र उत्कृष्ट नतिजालाई सम्मान गर्दा उनीहरुमा थप आत्मविश्वास बढ्ने उल्लेख गर्नुभयो । उहाँले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरुलाई पढाइप्रति अझ जिम्मेवार बन्न प्रेरित गर्नुका साथै अन्य विद्यार्थीहरुलाई पनि राम्रो नतिजा ल्याउन उत्साहित गर्ने धारणा राख्नुभयो ।

आरकले शिक्षा क्षेत्रमा स्थानीय जनप्रतिनिधिहरुको चासो र सहयोग आवश्यक रहेको बताउँदै वडाध्यक्ष यादवले व्यक्तिगत लगानीमै विद्यार्थीहरुलाई सम्मान गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो । उहाँले यसबाट अभिभावक, शिक्षक र विद्यार्थीबीच सकारात्मक सन्देश गएको उल्लेख गर्नुभयो ।

उहाँले विद्यालयले केवल पाठ्यपुस्तकको ज्ञान मात्र नभई विद्यार्थीहरुको प्रतिभा पहिचान र प्रोत्साहनमा पनि जोड दिइरहेको जानकारी दिनुभयो । साथै यस्ता कार्यक्रमले शैक्षिक वातावरण थप प्रतिस्पर्धात्मक, सिर्जनशील र उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गर्नुभयो ।

समाजसेवी हेमन्त पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा हिमाली निमाबि रामग्राम १६ हकुइका प्रधानाध्यापक घनश्याम यादवले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा अभिभावक, शिक्षक, समाजसेवी तथा स्थानीय बुद्धिजीवीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२६-०५-३१ , समय : ११:३५:०९ , २ घन्टा अगाडि