एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई युवा नेता गोविन्द यादवद्वारा ल्यापटप प्रदान

रुपन्देही खबर , ४७  पटक हेरिएको

भैरहवा, असार ५

युवा नेता तथा समाजसेवी गोविन्द यादवले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ल्यापटप प्रदान गरी सम्मान गर्नुभएको छ । सिद्धार्थनगर नगरपालिका–४ दोगहरास्थित नवदुर्गा माध्यमिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने तीन जना विद्यार्थीलाई यादवले ल्यापटप प्रदान गर्नुभएको हो । विद्यालयबाट एसईई उत्तीर्ण भएका अन्य विद्यार्थीहरूलाई समेत कदरपत्र प्रदान गरी सम्मान गरिएको हो ।

ल्यापटप प्राप्त गर्ने विद्यार्थीहरूमा ३.५१ जिपिए ल्याउने रेमिका खड्का, ३.४३ जिपिए ल्याउने खुश्बु पासी र ३.२३ जिपिए ल्याउने मोहम्मद समिर मुसलमान रहेका छन् ।

विद्यार्थीहरूलाई सम्मान गर्दै समाजसेवी यादवले विद्यार्थीको मेहनत, लगनशीलता र सफलताको कदर गर्दै उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले अहिलेको प्रविधिमैत्री समयमा विद्यार्थीको अध्ययनलाई सहज बनाउन ल्यापटप सहयोग गरिएको उल्लेख गर्नुभयो । “विद्यार्थीको सफलता नै समाजको भविष्य हो । मेहनत गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न सके उनीहरू अझ अगाडि बढ्न प्रेरित हुन्छन्,” यादवले भन्नुभयो ।

सम्मानित विद्यार्थी रेमिका खड्काले आफ्नो सफलतामा परिवार, विद्यालयका शिक्षक तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले प्राप्त सम्मानले आगामी अध्ययनमा अझ मेहनत गर्ने प्रेरणा मिलेको बताउनुभयो ।

त्यस्तै, खुश्बु पासीले विद्यार्थीलाई पढाइप्रति हौसला प्रदान गर्ने यस्ता कार्यक्रमले आत्मविश्वास बढाउने बताउँदै समाजसेवी यादवप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

३.२३ जिपिए ल्याएर सम्मानित हुनुभएका मोहम्मद समिर मुसलमानले पनि प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताउनुभयो । उहाँले आगामी दिनमा अझ राम्रो अध्ययन गरी सफल बन्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

सम्मान कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीयहरूको सहभागिता रहेको थियो । सहभागीहरूले विद्यार्थीको मेहनतलाई सम्मान गर्ने र प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले शिक्षाको गुणस्तर सुधारसँगै विद्यार्थीको आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

प्रकाशित मिति: २०२६-०६-१९ , समय : २२:१०:२१ , १ घन्टा अगाडि