रोहिणी गाउँपालिकाद्वारा ५७ करोड ४३ लाखको बजेट प्रस्तुत

कृषि, रोजगारी र पूर्वाधारमा प्राथमिकता

रुपन्देही खबर , ७५  पटक हेरिएको

भैरहवा, असार १२


रुपन्देहीको रोहिणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ४३ लाख २ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार सम्पन्न गाउँपालिकाको १९ औं गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिकाले आर्थिक, सामाजिक विकास, कृषि प्रवर्द्धन, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै बजेट ल्याएको जनाएको छ । गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले समृद्ध रोहिणी निर्माणको लक्ष्यसहित नागरिकको आवश्यकता र मागलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो ।

बजेट कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारबाट विभिन्न शीर्षकमा ५१ करोड १५ लाख ८२ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै गाउँपालिकाको आन्तरिक स्रोतबाट २ करोड ३० लाख रुपैयाँ, अन्य स्रोतबाट नगद मौज्दात ३ करोड रुपैयाँ र जिल्ला समन्वय समितिबाट ७२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

रोहिणी गाउँपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, स्थानीयस्तरमा रोजगारी सिर्जना, सामाजिक विकास, शिक्षा, स्वास्थ्य तथा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई बजेटमा विशेष महत्व दिएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिकामा सात वटा वडा रहेका छन् । लुम्बिनी प्रदेशका ७३ गाउँपालिकामध्ये कपिलवस्तुका मायादेवी र शुद्धोधन तथा रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाहेक अन्य गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम र बजेट समयमै पेश गरेका छन् ।

प्रकाशित मिति: २०२६-०६-२६ , समय : २१:२४:४३ , १ घन्टा अगाडि