रुपन्देही खबर , ५१ पटक हेरिएको
बुटवल, असार २१
नेपालमा लागू भएको नयाँ कर संरचनापछि लिपमोटर ‘बी१०’ टप भेरियन्ट इलेक्ट्रिक एसयूभीको मूल्य पाँच लाख रुपैयाँले घटाइएको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका–कालिका चोकस्थित लिपमोटरको आधिकारिक विक्रेता अर्बन मोटर्स प्रालिले आइतबार नयाँ मूल्य सार्वजनिक गर्दै उक्त गाडी अब ५४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने जनाएको हो।
यसअघि २०२६ मोडलको लिपमोटर ‘बी१०’ टप भेरियन्टको मूल्य ६० लाख रुपैयाँ कायम रहेको थियो। नयाँ कर संरचना लागू भएसँगै कम्पनीले मूल्य समायोजन गरी पाँच लाख रुपैयाँ घटाएको जनाएको छ।
अर्बन मोटर्स प्रालिका सञ्चालक सुम्स थापाले नयाँ मूल्यका कारण ग्राहकलाई उच्चस्तरीय इलेक्ट्रिक एसयूभी अझ प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउन सकिएको बताउनुभयो। उहाँका अनुसार मूल्य घटेसँगै बुटवल तथा आसपासका जिल्लामा लिपमोटरप्रति ग्राहकको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ।
थापाले लिपमोटर ‘बी१०’ आधुनिक प्रविधि, सुरक्षा र आरामदायी सुविधाले सुसज्जित इलेक्ट्रिक एसयूभी भएको उल्लेख गर्दै यसमा युरो एनक्याप ५–स्टार सेफ्टी रेटिङ, लेभल–२ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) तथा स्ट्यान्डर्ड स्पेयर टायर उपलब्ध रहेको जानकारी दिनुभयो। यी सुविधाले चालक तथा यात्रुको सुरक्षालाई प्राथमिकता दिएको उहाँको भनाइ छ।
नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सका अनुसार बी१० मा ६७.१ किलोवाट–आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एकपटक पूर्ण चार्जमा अधिकतम ६०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्छ। साथै १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर सहज रूपमा सञ्चालन गर्न सकिने कम्पनीको दाबी छ।
गाडीको भित्री संरचनामा हिटेड तथा भेन्टिलेटेड सिट, प्यानोरामिक सनरुफ, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी जस्ता प्रिमियम सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ। यी सुविधाले यात्रुलाई आरामदायी तथा प्रविधिमैत्री अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ।
सञ्चालक थापाले रुपन्देहीसहित आसपासका क्षेत्रमा लिपमोटरको बजार विस्तार हुँदै गएको र ग्राहकको रोजाइमा पर्न थालेको बताउँदै मूल्य समायोजनले बिक्री अझ बढ्ने अपेक्षा व्यक्त गर्नुभयो।
लिपमोटर विश्वप्रसिद्ध ईभी निर्माता स्टेलान्टिस समूहद्वारा समर्थित ब्रान्ड हो। स्टेलान्टिसको मातहतमा मसेराटी, जिप, प्युजोसहित १४ वटा अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड रहेका छन्। कम्पनीका अनुसार लिपमोटरले हालसम्म विश्वभर १५ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको छ भने गत जुन महिनामा मात्रै ९३ हजार ३७६ युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरेको थियो।
कम्पनीका अनुसार लिपमोटरको बिक्री तथा सेवा सञ्जाल विश्वका ४० भन्दा बढी देशमा फैलिएको छ, जहाँ एक हजारभन्दा बढी सेल्स तथा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन्। कम्पनीले यही विश्वव्यापी नेटवर्क र प्रविधिका कारण लिपमोटरलाई विश्वसनीय इलेक्ट्रिक सवारीसाधनका रूपमा स्थापित गर्न सफल भएको जनाएको छ।
प्रकाशित मिति: २०२६-०७-०५ , समय : १३:२७:५४ , २ घन्टा अगाडि