रुपन्देही खबर , ७० पटक हेरिएको
भैरहवा, साउन ९
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आफूलाई प्रहरीको घुमुवा कर्मचारी भन्दै सर्वसाधारणलाई धम्क्याएर रकम असुल्ने प्रयास गरेको आरोपमा एक जनालाई नक्कली रिभल्भर र गाँजासहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ स्थायी घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा डेरा गरी बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार साउन ८ गते साँझ करिब ७ः३० बजे भैरहवा बजार क्षेत्रमा एक व्यक्तिले आफू जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भएको भन्दै पेस्तोल देखाएर व्यापारी तथा सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१३ स्थित शान्तिनगर क्षेत्रमा राणालाई फेला पारी नियन्त्रणमा लिएको थियो। त्यसपछि कानुनबमोजिम खानतलासी गर्दा उनले डेरा कोठामा लुकाइछिपाई राखेको एक थान नक्कली रिभल्भर, ५०० ग्राम गाँजा, भिभो कम्पनीको एक थान एन्ड्रोइड मोबाइल, एक थान सवारी चालक अनुमतिपत्र लाइसेन्स तथा २ हजार ६ सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका राणाले आफूलाई प्रहरीको घुमुवा कर्मचारीका रूपमा चिनाउँदै सर्वसाधारणलाई धम्क्याएर रकम असुल्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको तथा यसअघि पनि यस्तै गतिविधिमा संलग्न रहेको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
बरामद भएका नक्कली रिभल्भर, गाँजा, मोबाइल र नगद प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका राणाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई कुनै व्यक्तिले आफू प्रहरी वा अन्य सरकारी निकायको कर्मचारी भएको परिचय दिई पैसा मागे वा धम्की दिएमा त्यसको सत्यता नजिकको प्रहरी कार्यालयमा बुझ्न र तत्काल सूचना दिन आग्रह गरेको छ। साथै, यस्ता अवैध गतिविधिमा संलग्न जोसुकैमाथि पनि कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०७-२५ , समय : १४:०६:४३ , ४६ मिनेटutes अगाडि