उर्मिला यादव यात्री , ६३ पटक हेरिएको
भैरहवा, साउन १०
सरकारले प्राथमिक तहमा लागू गरेको आन्तरिक मूल्याङ्कन प्रणालीलाई प्रभावकारी, वस्तुनिष्ठ र व्यवहारिक बनाउने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरले आइतबार भैरहवामा एकदिने शिक्षक तालिम सम्पन्न गरेको छ।
कक्षा ४ र ५ मा अध्यापनरत शिक्षकलाई लक्षित गरी आयोजित तालिममा निरन्तर विद्यार्थी मूल्याङ्कन, ग्रेडिङ प्रणाली, सिकाइ उपलब्धिको अभिलेखीकरण तथा अभिभावकलाई विद्यार्थीको वास्तविक प्रगति प्रभावकारी रूपमा जानकारी गराउने विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदयकुमार मल्लिकले आन्तरिक मूल्याङ्कनलाई केवल परीक्षा र अंकमा सीमित गर्न नहुने बताउनुभयो। विद्यार्थीको सिकाइ प्रक्रिया, व्यवहार, सहभागिता, सिर्जनशीलता र समग्र उपलब्धिलाई समेटेर मूल्याङ्कन गरिनुपर्ने उहाँको भनाइ थियो।
उहाँले सरकारको नयाँ मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकलाई समयानुकूल सीप र ज्ञान आवश्यक पर्ने भएकाले तालिम आयोजना गरिएको जानकारी दिनुभयो। प्याब्सन सिद्धार्थनगरअन्तर्गत हाल २६ वटा निजी विद्यालय आबद्ध रहेको उल्लेख गर्दै उहाँले शिक्षकको पेशागत क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
“गुणस्तरीय शिक्षा सक्षम शिक्षकबाट मात्रै सम्भव हुन्छ। त्यसैले समयअनुकूल शिक्षण र मूल्याङ्कन प्रणालीबारे शिक्षकलाई निरन्तर अद्यावधिक गराउनु आवश्यक छ,” अध्यक्ष मल्लिकले भन्नुभयो।
तालिमको सहजीकरण प्याब्सन तिलोत्तमाका अध्यक्ष दीपक गौतमले गर्नुभएको थियो। उहाँले परम्परागत परीक्षा केन्द्रित मूल्याङ्कन प्रणालीभन्दा माथि उठेर विद्यार्थीको दैनिक सिकाइ, कक्षाकोठामा सहभागिता, परियोजना कार्य, सिर्जनशीलता र व्यवहारलाई समेत मूल्याङ्कनको आधार बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले आधुनिक मूल्याङ्कन विधि, ग्रेडिङ प्रणाली, निरन्तर विद्यार्थी मूल्याङ्कन तथा अभिलेखीकरणका व्यवहारिक पक्षबारे सहजीकरण गर्दै आन्तरिक मूल्याङ्कनको उद्देश्य विद्यार्थीलाई असफल घोषणा गर्नु नभई उनीहरूको सिकाइ अवस्थाको पहिचान गरी सुधारका अवसर सिर्जना गर्नु रहेको स्पष्ट पार्नुभयो। मूल्याङ्कन प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रमाणमा आधारित हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
तालिममा सहभागी शिक्षक संगम विकले विद्यालयमा आन्तरिक मूल्याङ्कन कार्यान्वयनका क्रममा देखिएका अन्योल हटाउन तालिम प्रभावकारी भएको बताउनुभयो। तालिमबाट प्राप्त ज्ञानले विद्यार्थीको सिकाइ उपलब्धिको वस्तुनिष्ठ मूल्याङ्कन तथा अभिलेखीकरणलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ।
अर्का सहभागी केशवराज पालले तालिम समयसापेक्ष, उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिँदै सिकेका ज्ञान र सीपलाई विद्यालयको दैनिक शिक्षण सिकाइ तथा मूल्याङ्कन प्रक्रियामा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्याब्सन सिद्धार्थनगरअन्तर्गतका २६ सदस्य विद्यालयका ७६ जना शिक्षक सहभागी रहेको तालिममा समूह छलफल, प्रस्तुतीकरण तथा अनुभव आदान–प्रदानमार्फत आन्तरिक मूल्याङ्कनका व्यवहारिक पक्षमा समेत अभ्यास गरिएको थियो।
प्याब्सन सिद्धार्थनगरले यस्ता क्षमता विकासमूलक कार्यक्रमले शिक्षकको पेशागत दक्षता अभिवृद्धि गर्नुका साथै विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा सरकारको आन्तरिक मूल्याङ्कन नीतिको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रकाशित मिति: २०२६-०७-२६ , समय : २२:१९:४७ , ४४ मिनेटutes अगाडि