रुपन्देही खबर , ६८ पटक हेरिएको
मणिग्राम, साउन २७
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा विद्यार्थी गुणस्तर समूहको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ।अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले तय गरेको यस वर्षको मूल सन्देश ‘भिन्न परिवेश, साझा आकांक्षा’ ९म्षाभचभलत ऋयलतभहतक, ऋयmmयल ब्कउष्चबतष्यलक० लाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा स्रोतव्यक्तिका रूपमा प्राज्ञिक व्यक्तित्व तथा युवा उद्यमी एवं मणिग्राम विश्राम बाटिकाका प्रबन्ध निर्देशक प्रणदा आचार्य दीक्षितले नेपाली युवाशक्तिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभावका विषयमा धारणा राख्नुभयो। उहाँले युवाको क्षमता, सीप र सिर्जनशीलतालाई स्वदेशमै उपयोग गर्दै राष्ट्रिय विकासमा योगदान पुर्याउन सकिने बताउनुभयो।
युरोपमा अध्ययन गरे पनि नेपालबाटै आफ्नो व्यावसायिक यात्रा विस्तार गरिरहेको उल्लेख गर्दै आचार्य दीक्षितले नेपाली संस्कृति, आतिथ्य सत्कार र पर्यटनलाई आधार बनाएर आफूले काम गरिरहेको जानकारी दिनुभयो। उहाँले युवाहरूले आफ्नो मौलिकता र स्थानीय सम्भावनालाई पहिचान गरी विश्व बजारसँग जोड्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विद्यार्थीहरूले युवा उद्यमशीलता, अध्ययनपछिको अवसर, स्वदेशमै सम्भावना खोज्ने उपाय तथा व्यक्तिगत विकासलगायतका विषयमा जिज्ञासा राखेका थिए। विद्यार्थी गुणस्तर समूहकी सृजना काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरू चन्दा थापा र अनिषा न्यौपानेसहित प्राध्यापक डा। अशोक भण्डारी, मुक्तिनाथ गैह्रे लगायतले विभिन्न विषयमा प्रश्न तथा जिज्ञासा राख्नुभएको थियो।
सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले जीवनमा सफलता र प्रभाव पार्न जन्मेको वर्गभन्दा व्यक्तिको मेहनत, लगनशीलता र निरन्तर प्रयास महत्वपूर्ण हुने बताउनुभयो।
उहाँले जुनसुकै सामाजिक तथा आर्थिक परिवेशमा जन्मिए पनि आफ्नो क्षमता र परिश्रमलाई सही दिशामा अघि बढाउन सके जीवनमा सफलता हासिल गर्न सकिने धारणा राख्नुभयो। युवाहरूले अवसरको खोजी मात्र नगरी आफूभित्रको क्षमता पहिचान गरेर अवसर सिर्जना गर्नेतर्फ अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा स्नातक तहका करिब १५० विद्यार्थीका साथै प्राध्यापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। अन्तरक्र्रियात्मक प्रशिक्षणले विद्यार्थीहरूलाई युवा पुस्ताको सम्भावना, उद्यमशीलता र सामाजिक प्रभावका विषयमा थप प्रेरणा तथा व्यावहारिक जानकारी प्रदान गरेको आयोजकले जनाएको छ।
प्रकाशित मिति: २०२६-०८-१२ , समय : २०:२२:३५ , १ घन्टा अगाडि