व्यवसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न कर कार्यालयको आग्रह

रुपन्देही खबर , ० पटक हेरिएको

भैरहवा, साउन २९

आन्तरिक राजस्व कार्यालय भैरहवा, रुपन्देहीले व्यवसायिक कारोबार व्यक्तिगत बैंक खातामार्फत नगर्न व्यवसायीलाई आग्रह गरेको छ। कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले वस्तु तथा सेवा बिक्रीबाट प्राप्त हुने आम्दानी अनिवार्य रूपमा व्यवसायिक खातामै कारोबार गर्न आग्रह गर्नुभएको हो।

चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत पोख्रेलले व्यवसायिक आम्दानी व्यक्तिगत खातामा जम्मा गर्ने तथा व्यक्तिगत कारोबार व्यवसायिक खाताबाट गर्ने प्रवृत्तिले करसम्बन्धी समस्या निम्त्याउन सक्ने बताउनुभयो।

उहाँले आयकरसम्बन्धी व्यवस्थाअनुसार व्यवसायिक कारोबारको रकम व्यवसायिक खातामै लिनुपर्ने स्पष्ट पार्दै व्यक्तिगत र व्यवसायिक कारोबारलाई अलग राख्न व्यवसायीलाई आग्रह गर्नुभयो। व्यवसायिक कारोबार व्यक्तिगत खातामार्फत गरिएमा कानुनबमोजिम रकमको दुई प्रतिशत जरिवाना लाग्न सक्ने उहाँले जानकारी दिनुभयो। “व्यवसायिक आम्दानी व्यवसायिक खातामा लिने हो, व्यक्तिगत खातामा लिने होइन,” पोख्रेलले भन्नुभयो।

उहाँले व्यवसायीले वस्तु वा सेवा बिक्री गरेपछि अनिवार्य रूपमा बीलबिजक जारी गर्नुपर्नेमा समेत जोड दिनुभयो। ग्राहकले तत्काल बीलबिजक नलिए पनि व्यवसायीले बील जारी गर्नुपर्ने भन्दै उहाँले बीलबिजक जारी नगरे कानुनबमोजिम जरिवाना हुने बताउनुभयो। “ग्राहकले नलिए पनि बील काट्नुस्। आज नलिए भोलि पनि बील माग्न आउन सक्छन्,” उहाँले भन्नुभयो।

प्रमुख कर अधिकृत पोख्रेलले सरकारले करदाताका लागि उपलब्ध गराएका छुट तथा सुविधाको समेत उपयोग गर्न आग्रह गर्नुभयो। करसम्बन्धी कानुनी व्यवस्था र प्रक्रियाबारे जानकारी राख्दा व्यवसाय सञ्चालन सहज हुनुका साथै अनावश्यक जरिवाना तथा कानुनी झन्झटबाट बच्न सकिने उहाँको भनाइ थियो।

कार्यक्रममा चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले करसम्बन्धी पर्याप्त जानकारी नहुँदा केही व्यवसायी समस्यामा पर्ने गरेको बताउनुभयो। व्यवसायीलाई करसम्बन्धी कानुनी व्यवस्था, प्रक्रिया र छुट सुविधाबारे जानकारी गराउने उद्देश्यले संस्थाले प्रत्येक वर्ष कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा व्यवसायी राजकुमार गुप्ता, हरि पाण्डे, पूर्णवासी गुप्ता, सन्तोष शुक्ला, पवि खनाल, पशुपति कान्दु, यादवप्रसाद आचार्य, राजेश महोत्रा, झबिन्द्र बेल्बासे, सिकन्दर अलीलगायतले करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। उनीहरूले व्यवसायिक कारोबार, बीलबिजक, कर छुट, कर दाखिला तथा आर्थिक ऐनमा भएका व्यवस्थाबारे प्रश्न गरेका थिए।

सो अवसरमा कर अधिकृत सरोज मरासिनीले आर्थिक ऐन, २०८३ ले प्रदान गरेका विभिन्न कर छुट तथा सुविधालगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले करदाताले आफ्नो व्यवसायको प्रकृति र कारोबारअनुसार लागू हुने करसम्बन्धी व्यवस्था बुझेर पालना गर्नुपर्नेमा जोड दिनुभयो।चेम्बर अफ कमर्श, रुपन्देहीका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक कृष्ण मरासिनीको स्वागत तथा संस्थाका महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

कर प्रशासन र व्यवसायीबीच प्रत्यक्ष संवादमार्फत करसम्बन्धी अन्योल हटाउने उद्देश्यले आयोजित अन्तरक्रियाले व्यवसायीलाई कारोबारको अभिलेख व्यवस्थित राख्ने, व्यवसायिक र व्यक्तिगत वित्तीय कारोबार छुट्याउने तथा बीलबिजक जारी गर्ने विषयमा सचेत गराएको आयोजकको भनाइ छ।

प्रकाशित मिति: २०२६-०८-१४ , समय : २१:२४:२८ , १ घन्टा अगाडि