भोलि र पर्सी राममणि बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

रुपन्देही खबर , २४  पटक हेरिएको

मणिग्राम, भदौ ५

अनुसन्धान व्यवस्थापन समिति राममणि बहुमुखी क्याम्पस, तिलोत्तमा–५ मणिग्राम रूपन्देहीले भोलि र पर्सी (भाद्र ६ र ७ गते तदनुसार २२ र २३ अगस्ट २०२६) मा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सञ्चालन गर्ने भएको छ । “ अर्थात् “उत्कृष्टताको खोजीमा सामाजिक विज्ञानका उदीयमान दृष्टिकोण तथा शैक्षिक अवसरहरू” विषयवस्तुमा आयोजना हुने सम्मेलनमा नेपालसहित भारत, फिलिपिन्स र मलेशियाका विश्वविद्यालय तथा शैक्षिक क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ ।

सम्मेलनको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका कार्यवाहक रजिस्ट्रार तथा व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसे प्रमुख अतिथि एवम् मुख्य वक्ताका रूपमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ । भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुरका समाजशास्त्र विभागका प्रमुख प्रा. डा. अनुराग द्विवेदी र फिलिपिन्सको अब्रा स्टेट इन्स्टिच्यूट अफ साइन्सेज एण्ड टेक्नोलोजी का प्राध्यापक डा. एलेक्सिस ए. एन्रिक्वेज मुख्य वक्ताका रूपमा सहभागी हुनेछन् । विहान ९ः०० बजेदेखि मणिग्राम विश्राम वाटिकामा सञ्चालन हुने कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।

उद्घाटन सत्रमा शिक्षाविद्, प्राध्यापक, अनुसन्धानकर्ता, सरकारका प्रतिनिधि, उद्योगी–व्यवसायी, क्याम्पसका पूर्व तथा वर्तमान पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी र विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ । सम्मेलनमा विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रस्तुतिसमेत गरिने कार्यक्रम रहेको छ ।

सम्मेलनका क्रममा व्यवस्थापन विषय क्षेत्र, सामाजिक विज्ञान र शिक्षाशास्त्रका समसामयिक विषयमा मुख्य वक्ताका प्रस्तुति, प्यानल छलफल तथा सरोकारवालासँगको छलफल सञ्चालन गरिनेछ । क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिले आयोजना गर्न लागेको यस सम्मेलनले व्यवस्थापन विषय क्षेत्र, सामाजिक विज्ञान, शिक्षाशास्त्र र उच्च शिक्षाका क्षेत्रमा भइरहेका अनुसन्धान, नयाँ शैक्षिक दृष्टिकोण र उत्कृष्टताका लागि आवश्यक अवसर तथा सम्भावनाबारे अन्तर्राष्ट्रियस्तरमा ज्ञान, अनुभव र विचार आदानप्रदान गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक डा. अशोक भण्डारीले जानकारी दिनुभयो ।

 

 

प्रकाशित मिति: २०२६-०८-२१ , समय : १९:५३:४३ , ४५ मिनेटutes अगाडि