बालबालिकालाई हानि पुर्‍याएको आरोपमा मेटाले १८ अर्ब डलरको सम्झौता गर्‍यो

रुपन्देही खबर , २५  पटक हेरिएको

तस्वीर :एजेन्सी

काठमाण्डौ,भदौ ११

सामाजिक सञ्जाल कम्पनी मेटाले  फेसबुक र इन्स्टाग्रामले बालबालिकालाई हानि पुर्‍याएको आरोपसम्बन्धी मुद्दा टुंग्याउन अमेरिकाका ४८ राज्य, डिस्ट्रिक्ट अफ कोलम्बिया र तीन अमेरिकी क्षेत्रसँग झण्डै १८ अर्ब अमेरिकी डलर अर्थात् करिब साढे २७ खर्ब रुपैयाँ बराबरको सम्झौता गरेको छ । अदालतमा मुद्दाको सुनुवाइ चलिरहेका बेला मेटा र सम्बन्धित राज्यहरूबीच सम्झौता भएको हो । सम्झौतामा मेटाले आफूले कुनै गल्ती गरेको स्वीकार भने गरेको छैन । बीबीसीका अनुसार क्यालिफोर्नियाका न्यायाधीश य्भोन गोन्जालेज रोजर्सले हिजो सम्झौतालाई स्वीकृति दिनुभएको हो ।

बाल सुरक्षा सम्बन्धी मुद्दामा मेटाले स्वीकार गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको खबरमा उल्लेख छ । मेटाका अनुसार सम्झौताअन्तर्गतको रकम १० वर्षको अवधिमा वार्षिक किस्तामा तिरिनेछ । सम्झौताअनुसार मेटाले किशोरकिशोरीको सामाजिक सञ्जाल प्रयोगलाई सुरक्षित बनाउन फेसबुक र इन्स्टाग्राममा विभिन्न नयाँ व्यवस्था लागू गर्नुपर्नेछ । मध्यरातदेखि बिहान ६ बजेसम्म ‘नाइट मोड’ स्वतः सक्रिय हुनेछ । विद्यालय समयमा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सूचनाहरू म्युट हुने ‘स्कुल मोड’ पनि लागू गरिनेछ ।

किशोरकिशोरीले लगातार १५ मिनेट सामाजिक सञ्जाल प्रयोग गरेपछि चेतावनी देखाइनेछ भने कुल प्रयोग समय ६० र ९० मिनेट पुगेपछि थप सूचना दिइनेछ । प्रयोगकर्ताले एल्गोरिदममा आधारित नभएको फिड रोज्न तथा भिडियोको अटोप्ले बन्द गर्न सक्ने व्यवस्था पनि गरिनेछ ।

कम्पनीले सम्झौतामार्फत आफ्ना प्लेटफर्मलाई किशोर प्रयोगकर्ताका लागि थप सुरक्षित बनाउने उपायहरू लागू गर्न प्रतिबद्धता जनाएको छ । यो मुद्दा सन् २०२३ मा अमेरिकाका २९ वटा राज्यले संयुक्त रूपमा दायर गरेका थिए ।

प्रकाशित मिति: २०२६-०८-२७ , समय : ०९:३९:२५ , १० मिनेटutes अगाडि