रासस , ३९ पटक हेरिएको
नारायणगढ ,भदौ ११
भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको शवबाट कानमा लगाएको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नारायणी नदी किनारमा फेला परेको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी थालेको थियो। उक्त श्रव्यदृश्यमा देखिएका व्यक्तिको पहिचान र विवरणका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलका अनुसार अनुसन्धानका क्रममा दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा नवलपरासीको विनयत्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क सुपारीटोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
प्रहरीका अनुसार दुवै जनालाई भरतपुर महानगरपालिका–१ स्थित पोखरा बसपार्क नजिकबाट पक्राउ गरिएको हो। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन ल्याइएको प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभयो।
भोटेकोशी नदीमा आएको बाढीपछि नारायणी नदीमा बगाएर ल्याइएको शव नदी किनारमा फेला परेको थियो। शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक ध्यानाकर्षण गराएको थियो।
प्रहरीले श्रव्यदृश्य सामग्रीमा देखिएको विवरण तथा अन्य प्रमाणका आधारमा घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रकाशित मिति: २०२६-०८-२७ , समय : २०:५१:४८ , १ घन्टा अगाडि