रुपन्देही खबर , ३२ पटक हेरिएको
नवलपुर, भदौ ११
नारायणी नदीबाट फेला परेका ४१ वटा शव पोस्टमार्टम तथा पहिचानका लागि पोखरास्थित गण्डकी प्रदेश सरकारी अस्पताल पठाइएको छ।
इलाका प्रहरी कार्यालय रजहरका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङको कमान्डमा खटिएको प्रहरी टोलीले बुधबार राति २ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म सञ्चालन गरेको खोज तथा उद्धारका क्रममा नारायणी नदीबाट ५५ वटा शव फेला पारेको प्रहरीले जनाएको छ। तीमध्ये आवश्यक कानुनी प्रक्रिया पूरा गरी ४१ वटा शव पोखरा पठाइएको हो।
पोखरा पठाइएका शवमध्ये १८ जना महिला, तीन जना बालबालिका र २० जना पुरुष रहेका छन्। फेला परेका शवमध्ये अधिकांशको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पूर्वी नवलपरासीको देवचुली तथा गैंडाकोट नगरपालिका–१, २, ३, ४ र ५ आसपासको नारायणी नदी क्षेत्रमा ती शव फेला परेका हुन्। प्रारम्भिक विवरणअनुसार रसुवाको त्रिशूली नदी क्षेत्रमा आएको बाढीपछि बगेका शवहरू नदीको तीव्र बहावसँगै नारायणी नदीसम्म आइपुगेका हुन ।
प्रहरी निरीक्षक गुरुङको कमान्डमा खटिएको टोलीले नदी किनार तथा आसपासका क्षेत्रमा निरन्तर खोजी गरेको थियो। फेला परेका शव संकलन गरी मुचुल्का लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि पोस्टमार्टम र पहिचानका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ।
पहिचान खुल्न बाँकी शवका सम्बन्धमा सम्बन्धित परिवार तथा आफन्तसँग समन्वय गरी पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ। नदीमा बाढीको बहावका कारण थप शव आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै खोजी तथा निगरानी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०८-२७ , समय : २१:४०:१७ , २५ मिनेटutes अगाडि