रुपन्देही खबर , ६२ पटक हेरिएको
परासी, भदौ १४
नेपाल प्रेस युनियन जिल्ला शाखा नवलपरासीको अध्यक्षमा अनिल यादव निर्वाचित हुनुभएको छ। शनिबार परासीमा सम्पन्न युनियनको १०औँ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा यादवले निवर्तमान अध्यक्ष उमेश कुमार बिकलाई तीन मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो।

जिल्ला शाखामा कुल २८ जना सदस्य रहेकामा २७ मत खसेको थियो। निर्वाचनमा यादवले १५ मत प्राप्त गर्दा बिकले १२ मत प्राप्त गर्नुभएको थियो। एक मत भने खसेन।
अध्यक्ष पदमा यादव र बिकबीच प्रतिस्पर्धा भए पनि अन्य पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका छन्। युनियनको उपाध्यक्षमा हुसेन अन्सारी, महिला उपाध्यक्षमा गीता भट्टराई, सचिवमा नन्दु यादव, सहसचिवमा खुर्सेद हजाम र कोषाध्यक्षमा सञ्जय कुशवाहा चयन हुनुभएको छ।
त्यसैगरी जिल्ला कार्यसमिति सदस्यमा सेहवान मिया, सिकेन्द्र सहानी र श्याम बदन हरिजन सर्वसम्मत चयन हुनुभएको छ। कार्यसमितिका बाँकी चार जना सदस्यलाई मनोनयन गरिने जनाइएको छ।
अधिवेशनबाट प्रदेश प्रतिनिधिमा इन्द्र रेग्मी, रविन शर्मा चापागाईं, दीपक खनाल र नारायण सुवेदी चयन हुनुभएको छ। संघीय महाधिवेशन प्रतिनिधिमा हरि शर्मा, प्रकाश न्यौपाने, आरपी उपाध्याय, रविन्द्र यादव र उर्मिला यादव सर्वसम्मत चयन हुनुभएको छ।
युनियनको नयाँ नेतृत्व चयनका लागि अधिवक्ता प्रकाश न्यौपानेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। समितिको सदस्यमा विमलचन्द्र घिमिरे रहनुभएको थियो।
अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै नवलपरासीका पत्रकारहरूको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका साझा समस्या समाधानका लागि युनियनलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।
अध्यक्षमा निर्वाचित यादवले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा युनियनका सदस्यप्रति आभार व्यक्त गर्दै संगठनलाई सबै पत्रकारको साझा संस्थाका रूपमा अघि बढाउने बताउनुभएको छ। उहाँले पत्रकारहरूको पेशागत हकहितका साथै प्रेस स्वतन्त्रताको संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। “साथीहरूले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै संगठनलाई थप एकताबद्ध र प्रभावकारी बनाउनेछु। पत्रकारका पेशागत समस्या र अधिकारका सवालमा सबैसँग सहकार्य गरेर अघि बढ्नेछु,” यादवले बताउनुभयो।
प्रकाशित मिति: २०२६-०८-३० , समय : ०७:४५:५४ , २ घन्टा अगाडि