रुपन्देही खबर , ३६१ पटक हेरिएको
बुटवल, भदौ १५
नेशनल प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षा क्षेत्रमा गतिविधि अघि बढाउनुपर्ने बताउनुभएको छ। उहाँले विद्यार्थीको क्षमता, रुचि र प्रतिभा पहिचान गर्दै शैक्षिकसँगै उनीहरूको सर्वाङ्गीण विकासमा ध्यान दिनुपर्ने बताउनुभयो। नेशनल प्याब्सन रुपन्देहीको ११औँ वार्षिक साधारणसभालाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै सिर्जनशीलता, व्यवहारिक ज्ञान, अनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकासलाई समेत प्राथमिकता दिनुपर्ने बताउनुभयो।
उहाँले नेशनल प्याब्सन राजनीतिक संगठन नभएको स्पष्ट पार्दै संस्थागत विद्यालयको हकहित संरक्षण तथा प्रवद्र्धन र विद्यालयलाई व्यवस्थित बनाउने काममा संगठन केन्द्रित रहेको बताउनुभयो। संस्थागत विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउँदै आएको उल्लेख गर्दै उहाँले शिक्षा क्षेत्रमा समयानुकूल परिवर्तन आवश्यक रहेको बताउनुभयो।
“हाम्रो मुख्य उद्देश्य विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्नु हो,” उहाँले भन्नुभयो। शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढ्दै गएकाले बदलिँदो समय र विश्व परिवेशअनुसार विद्यालयले आफ्ना शिक्षण विधि परिमार्जन गर्नुपर्ने उहाँको भनाइ थियो। विद्यार्थीलाई केवल परीक्षा र अंकमा सीमित नगरी जीवनोपयोगी ज्ञान, सीप तथा व्यवहारिक शिक्षासँग जोड्नुपर्ने उहाँले बताउनुभयो।
नेशनल प्याब्सनमा ठूलो संख्यामा शिक्षक तथा कर्मचारी आबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष न्यौपानेले शिक्षाका माध्यमबाट सामाजिक योगदान पुर्याउने जिम्मेवारी संगठनको रहेको बताउनुभयो। उहाँले संस्थागत विद्यालयलाई व्यवस्थित र गुणस्तरीय बनाउन राज्य, विद्यालय सञ्चालक, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष न्यौपानेको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो। कार्यक्रममा नेशनल प्याब्सन नेपालका केन्द्रीय महासचिव प्रकाश खड्काले संस्थागत विद्यालयले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो। निजी विद्यालयसँग सम्बन्धित नीतिगत, कानुनी तथा व्यावहारिक समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।
खड्काले विद्यालयले शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राख्दै दक्ष शिक्षक, प्रभावकारी शिक्षण विधि र विद्यार्थीमैत्री वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो। शिक्षा क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
केन्द्रीय उपमहासचिव विष्णुप्रसाद पौडेलले विद्यार्थीलाई पाठ्यक्रम र परीक्षामा मात्र सीमित गरेर शिक्षा प्रदान गर्न नहुने बताउनुभयो। उहाँले विद्यार्थीको व्यक्तित्व विकास, संस्कार, अनुशासन, सिर्जनशीलता, नेतृत्व क्षमता र व्यवहारिक सीपलाई शिक्षाको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिनुभयो।
विद्यालय, शिक्षक र अभिभावकबीच प्रभावकारी समन्वय हुन सके विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउन सकिने बताउँदै पौडेलले प्रविधि र बदलिँदो सामाजिक परिवेशअनुसार शिक्षण विधिमा सुधार गर्नुपर्ने धारणा राख्नुभयो।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले शिक्षा क्षेत्रको विकासका लागि स्थानीय तह र निजी विद्यालयबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। विद्यालयका आवश्यकता र समस्या समाधानका लागि स्थानीय सरकारसँग निरन्तर समन्वय गर्न आग्रह गर्दै उहाँले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधारसँगै दक्ष शिक्षक, प्रभावकारी शिक्षण विधि र विद्यार्थीमैत्री वातावरण आवश्यक रहेको बताउनुभयो।
नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष बन्जाडेले स्वागत मन्तव्यसहित वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थागत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको प्रतिभा विकास, शिक्षकको क्षमता अभिवृद्धि तथा विद्यालय सञ्चालकका पेशागत विषयलाई प्राथमिकतामा राखेर संगठनले काम गर्दै आएको बताउनुभयो।उहाँले आगामी दिनमा विद्यार्थी केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै संस्थागत विद्यालयका साझा समस्या समाधानका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसँग समन्वय र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो।

साधारणसभाको अवसरमा विद्यालयको पूर्ण आचारसंहिता पालना तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न विद्यालयका प्राचार्यलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा सिद्धार्थ एकेडेमी भैरहवाका प्राचार्य अमित यादव, ब्राइट स्टार इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका प्राचार्य एलबी रौतार, मोर्डन पब्लिक स्कुलका प्राचार्य राहुल यादव, युनिक पब्लिक स्कुलका प्राचार्य मनोज जिसी, ग्लोरी इङ्लिस बोर्डिङ स्कुल बुटवलका बालकृष्ण तिवारी, बुटवल ग्लोरी इङ्लिस बोर्डिङ स्कुलका शंकर गौतम, सिद्धार्थ ग्यालेक्सी पब्लिक स्कुल कोटिहवाका बिलप्रसाद गुरुङ, एसटी जोसेफ इङ्लिस बोर्डिङ स्कुल भलवारीका लक्ष्मण अर्याल र भीएम पब्लिक स्कुल रोहिणीका ओमप्रकाश यादव लगायत रहनु भएको छ ।
त्यसैगरी नेशनल प्याब्सनको संगठनात्मक गतिविधिमा उत्कृष्ट योगदान पुर्याएको भन्दै केन्द्रीय सचिव बालकृष्ण तिवारी, नेशनल प्याब्सन रुपन्देहीका सचिव अमित यादव र कोषाध्यक्ष कमल पौडेललाई दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, अभिभावक संघ नेपालका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली र पुस्तक व्यवसायी संघका अध्यक्ष गोपाल बस्यालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि विद्यालय, शिक्षक, अभिभावक, स्थानीय तह तथा अन्य सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताएका थिए। विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिक सीप, प्रविधि र सिर्जनात्मक गतिविधिमा जोड्नुपर्ने उनीहरूको भनाइ थियो।
साधारणसभामा नेशनल प्याब्सन रुपन्देहीका विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना, संस्थागत विद्यालयका समस्या, शैक्षिक गुणस्तर तथा विद्यार्थी केन्द्रित कार्यक्रमका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा रुपन्देहीका विभिन्न संस्थागत विद्यालयका सञ्चालक तथा प्रतिनिधि, शिक्षक, अभिभावक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता थियो। कार्यक्रमको सञ्चालन नेशनल प्याब्सन रुपन्देहीका सचिव अमित यादवले गर्नुभएको थियो।
प्रकाशित मिति: २०२६-०९-०१ , समय : ००:२४:५२ , ६ दिन अगाडि