रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो : उपेन्द्र यादव

रुपन्देही खबर , २७  पटक हेरिएको

तौलिहवा, भदौ २३

 जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा सरकार बनेपछि पनि मुलुकमा सुशासन कायम हुन नसकेको आरोप लगाउनुभएको छ । उहाँले सरकार परिवर्तन भए पनि भ्रष्टाचार र कमिसनतन्त्र अन्त्य हुन नसकेको दाबी गर्नुभएको हो ।

जसपा नेपाल कपिलवस्तुले तौलिहवामा आयोजना गरेको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले निर्वाचनका बेला विकास र सुशासनको नारा दिएर नयाँ राजनीतिक शक्तिलाई जनताले अवसर दिए पनि अपेक्षाअनुसार परिणाम आउन नसकेको बताउनुभयो ।

‘निर्वाचनमा विकास र सुशासन नयाँ नारा होइन । तर, नयाँ शैलीमा नारा बनाइयो र रास्वपाले बहुमत पायो,’ यादवले भन्नुभयो, ‘बहुमत पाएपछि विकास र सुशासन हरायो । अहिले पनि देशमा कुशासन कायम छ र मुलुक आर्थिक संकटतर्फ गइरहेको छ ।’

यादवले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएको दाबी गर्दै कृषि, उद्योग तथा पर्यटन क्षेत्र प्रभावित भएको बताउनुभयो । गरिब तथा न्यून आय भएका नागरिकमाथि करको भार थपिँदै गएको उल्लेख गर्दै उहाँले कर प्रणालीमा पुनरावलोकन आवश्यक रहेको धारणा राख्नुभयो । आर्थिक गतिविधि कमजोर हुँदा मुलुक आर्थिक मन्दीको जोखिममा रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष यादवले संघीयताको पूर्ण कार्यान्वयन हुन नसकेको विषयलाई पनि राजनीतिक मुद्दाका रूपमा उठाउनुभयो । विभिन्न आन्दोलनको बलमा संघीय व्यवस्था स्थापना भए पनि त्यसको मर्मअनुसार कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

संघीय संरचनालाई कमजोर पार्दै पुनः केन्द्रीकृत शासन प्रणालीतर्फ अघि बढ्न खोजिएको आरोप लगाउँदै यादवले प्रदेशको सीमांकन, प्रतिनिधित्वलगायतका विषयमा आफूहरूको माग सम्बोधन हुनुपर्ने बताउनुभयो । पहिचानका आधारमा प्रदेशको सीमांकन र जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित नभएसम्म जसपा नेपालले राजनीतिक संघर्ष जारी राख्ने उहाँको भनाइ थियो ।

यादवले विगतमा नेपाली कांग्रेस तथा कम्युनिस्ट पार्टीहरूको राजनीतिक समीकरणमा सहभागी भएर सत्ताको खेलमा लाग्नु आफ्नो पार्टीको कमजोरी भएको स्वीकार गर्नुभयो । अब भने जसपा नेपालले जनताको अधिकार, पहिचान र सुशासनका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे समेत यादवले धारणा राख्नुभयो । विकसित तथा औद्योगिक राष्ट्रबाट हुने ठूलो परिमाणको कार्बन उत्सर्जनका कारण नेपालजस्ता हिमाली मुलुकहरू जलवायु संकटको उच्च जोखिममा परेको उहाँले बताउनुभयो ।

हरितगृह ग्यास उत्सर्जनका कारण हिमनदी पग्लिने क्रम तीव्र हुनुका साथै वातावरणीय सन्तुलनमा असर परेको उल्लेख गर्दै यादवले जलवायु परिवर्तनबाट नेपालले व्यहोर्नुपरेको क्षतिका लागि विकसित राष्ट्रसँग वातावरणीय न्यायको माग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जलवायु परिवर्तनको प्रभाव नेपालमा प्रत्यक्ष रूपमा देखिन थालेको बताउँदै अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो क्षतिपूर्ति र न्यायको विषय प्रभावकारी रूपमा उठाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल, केन्द्रीय सचिव कमरुद्दिन राई, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, केन्द्रीय सदस्य अब्दुल रासिदलगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यकर्ता भेला तथा अभिमुखीकरणमार्फत पार्टीका नेता तथा कार्यकर्तालाई संगठन सुदृढीकरण, राजनीतिक एजेन्डा र आगामी गतिविधिबारे जानकारी गराइएको जसपा नेपालले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०९-०८ , समय : २०:०८:४९ , ४७ मिनेटutes अगाडि