जसपा–लोसपा समायोजनपछि रुपन्देहीमा ५१ सदस्यीय समिति, अध्यक्षमा सियाराम यादव

रुपन्देही खबर , ९३  पटक हेरिएको

भैरहवा, असोज ४

जनता समाजवादी पार्टी ९जसपा० नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालबीच भएको पार्टी समायोजनअनुसार रुपन्देहीमा जिल्ला तहको समायोजन कार्यक्रम सम्पन्न भएको छ। शनिबार भैरहवामा सम्पन्न समायोजन कार्यक्रमबाट सियाराम यादवको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो।

नवगठित समितिको उपाध्यक्षमा गोविन्द कहार, कलामुद्दीन खाँ र रवि यादव चयन हुनुभएको छ। सचिवमा विष्णु अधिकारी, सहसचिवमा जयशंकर पाठक र सुनिता खड्लुक तथा कोषाध्यक्षमा सन्तकुमार धवल चयन हुनुभएको छ।

समितिका सदस्यमा रमेश यादव, राधेश्याम चौधरी, प्रेमबहादुर उप्रेती, बिन्दु पाण्डे, गया प्रसाद वर्मा, गणेश यादव, विनय यादव, विनोद पाण्डे, योगेन्द्र यादव, लैलन यादव, चुल्हाई चौधरी, जंगबहादुर यादव, गायत्री यादव, गोविन्द यादव, वीरेन्द्र यादव, धर्मराज यादव, रामपत यादव, विजयकुमार मौर्य, रामचन्द्र पाल, रामलाल बेल्दार, शंकर विक, दिलिप यादव, जिते भर, राम वेलास यादव, धर्मराज यादव, रामदिन हरिजन र कृष्णबहादुर क्षेत्री लगायत चयन हुनुभएको छ। अध्यक्षमा चयन हुनुभएका सियाराम यादवले यसअघि पनि जसपा नेपाल रुपन्देही जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो।

यस्तै गरी कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष सियाराम यादवले पार्टी समायोजनपछि रुपन्देहीमा संगठनलाई थप एकताबद्ध, सुदृढ र व्यवस्थित बनाउँदै जनताका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले पार्टीभित्र सबै पक्षलाई समेटेर सहकार्य र समन्वयका आधारमा संगठन विस्तार गर्ने बताउनुभयो।

यादवले जिल्लाका नेता तथा कार्यकर्ताबीचको एकतालाई बलियो बनाउँदै स्थानीय तहसम्म संगठनलाई सक्रिय बनाउने, जनतासँग प्रत्यक्ष जोडिएका समस्या र सवाललाई पार्टीको एजेन्डाका रूपमा अघि बढाउने बताउनुभयो। उहाँले नयाँ जिम्मेवारीलाई अवसरभन्दा बढी चुनौतीका रूपमा लिँदै संगठन निर्माण र जनताको विश्वास कायम गर्न इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले पार्टी समायोजनपछि उत्पन्न हुने असमझदारीलाई संवाद र सहमतिमार्फत समाधान गर्दै सबै नेता–कार्यकर्तालाई समेटेर अघि बढ्ने बताउनुभयो। रुपन्देहीमा पार्टीको संगठनलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा जनताको पक्षमा परिणाम देखिने गरी काम गर्ने उहाँको भनाइ थियो।

समायोजन कार्यक्रममा जसपा नेपालकी केन्द्रीय कार्यकारिणी सदस्य अम्बिका काफ्ले, केन्द्रीय सदस्य अजय वर्मा, विद्या प्रसाद यादव, निलम यादव, पूर्वकेन्द्रीय सदस्य विजया खत्री, लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव, प्रदेश उपाध्यक्ष अश्लम खान, प्रदेश सदस्य गौतम यादव, प्रदेश सदस्य सुरेन्द्र धवल तथा जिल्ला सहसचिव जयशंकर पाठक लगायतले धारणा राख्नुभएको थियो।

कार्यक्रममा बोल्ने नेताहरूले पार्टी समायोजनपछि संगठनलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। जिल्लादेखि स्थानीय तहसम्म संगठनलाई व्यवस्थित गर्दै पार्टीका गतिविधिलाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको भनाइ थियो।

 

प्रकाशित मिति: २०२६-०९-२० , समय : ०८:३३:२१ , ५८ मिनेटutes अगाडि