काँग्रेस सिद्धार्थनगर सभापतिमा रेग्मीको प्यानलसहित उम्मेदवारी घोषणा

गुट होइन संगठनको राजनीति’ गर्ने प्रतिबद्धता

रुपन्देही खबर , ५१  पटक हेरिएको

भैरहवा, असोज ६

नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगर सभापति पदका लागि सञ्जीव शर्मा रेग्मीले प्यानलसहित उम्मेदवारी घोषणा गर्नु भएको छ । आज भैरहवामा आयोजित नेपाली काङ्ग्रेस १५ औं महाधिवेशन अन्तर्गत सिद्धार्थनगरमा नव निर्वाचित वडा सभापति एवम क्षेत्रिय प्रतिनिधिहरुको सम्मान कार्यक्रममा रेग्मीले आफनो प्यानलसहित उम्मेदवारी घोषणा गर्नु भएको हो ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै रेग्मीले आफू पदका लागि मात्र नभई कार्यकर्ताको विश्वास र संगठन सुदृढीकरणका लागि प्रतिस्पर्धामा आएको बताउनु भएको छ । उहाले विद्यार्थी राजनीतिदेखि कांग्रेसमा निरन्तर सक्रिय रहँदै वडा सचिव, नगर कोषाध्यक्ष तथा नगर सचिवको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै आफ्नो राजनीतिक यात्रा कार्यकर्ताको विश्वासकै परिणाम भएको बताउनु भयो ।

उहाले पद प्राप्त गर्नुभन्दा कार्यकर्ताको विश्वास र भरोसा ठूलो कुरा भएको बताउनु भयो । “म आज एउटा पदका लागि मात्र उभिएको होइन। वर्षौंदेखि पार्टीमा समर्पित भएर काम गरेका कार्यकर्ताको विश्वास, मेरो राजनीतिक विचार र संगठनप्रतिको प्रतिबद्धताका कारण उम्मेदवारी दिएको हुँ,” उहाले भन्नु भयो ।

रेग्मीले कांग्रेसलाई निर्वाचनका बेला मात्र सक्रिय हुने संगठनका रूपमा नभई वर्षभरि कार्यकर्ताको सुख–दुःखमा साथ दिने पार्टीका रूपमा विकास गर्नुपर्ने धारणा राख्नु भयो । “हामीले अब प्रश्न गर्नुपर्ने बेला आएको छ–हाम्रो कांग्रेस कस्तो बनाउने , निर्वाचनको बेला मात्र देखिने कांग्रेस बनाउने कि वडा–वडा र टोल–टोलमा पुगेर कार्यकर्ताको साथमा रहने कांग्रेस बनाउने ” उहाले प्रश्न गर्नु भयो ।

उहाले आफू कार्यकर्ताको घरदैलोमा पुग्ने र वर्षका ३६५ दिन नै संगठन निर्माण तथा कार्यकर्ता समन्वयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाका अनुसार सिद्धार्थनगरका प्रत्येक वडा र टोलमा पार्टीको संगठनात्मक उपस्थिति बलियो बनाउनु आफ्नो प्राथमिकता हुनेछ।

“निर्वाचनको समयमा मात्र होइन, वर्षका ३६५ दिन कार्यकर्ताको बीचमा रहेर संगठन निर्माण गर्न चाहन्छु,” रेग्मीले भन्नु भयो , “व्यक्ति होइन, विचार रोजौँस गुट होइन, संगठन रोजौँ भन्ने मान्यताका साथ अघि बढ्नेछौँ।”

आफू विगतको अनुभवसँगै थप जिम्मेवारी र स्पष्ट योजनासहित नगर सभापतिको प्रतिस्पर्धामा आएको उहाको भनाइ छ। अग्रजको अनुभव र युवाको ऊर्जालाई संयोजन गर्दै समावेशी, पारदर्शी र उत्तरदायी नगर समिति निर्माण गर्ने उहाले प्रतिबद्धता जनाउनु भयो ।

रेग्मीले आफ्नो नेतृत्वमा उपसभापतिमा अनिल केसी र लक्ष्मी अर्याल, सचिवमा पंकज उदास तथा सहसचिवमा राममिलन यादव रहेको प्यानल सार्वजनिक गर्नु भएको छ । उम्मेदवारी घोषणा कार्यक्रममा पूर्वकेन्द्रीय मन्त्री एवं कांग्रेस नेता भरतकुमार शाह, संविधानसभा सदस्य इस्तियाक अहमद खान, नेतृ अनिता शाह ढुंगाना, सुशील गुरुङ, दीपक क्षेत्री न्यौपाने लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२६-०९-२२ , समय : १७:०६:५३ , ४७ मिनेटutes अगाडि