पश्चिमाञ्चल जीवनयोग प्रयोगशालाद्वारा जसपा रुपन्देही अध्यक्ष यादव सम्मानित

रुपन्देही खबर , ३६  पटक हेरिएको

भैरहवा, असोज ८

जनता समाजवादी पार्टी (जसपा) नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवलाई पश्चिमाञ्चल जीवनयोग प्रयोगशाला सिद्धार्थनगरले सम्मान गरेको छ। जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच भएको समायोजनपछि पुनः जिल्ला अध्यक्षको जिम्मेवारी पाउनुभएका यादवलाई प्रयोगशालाले बुधबार भैरहवामा आयोजित कार्यक्रममा सम्मान गरेको हो।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक तथा प्रयोगशालाका प्रमुख सल्लाहकार जीवनप्रकाश पाण्डेय, प्रयोगशालाका कार्यवाहक अध्यक्ष लक्ष्मण भण्डारी, जीवन विज्ञान परिषद् रुपन्देहीका अध्यक्ष खगनाथ गैरे लगायतले यादवलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो। यादव प्रयोगशालाका उपाध्यक्षसमेत हुनुहुन्छ।

सम्मानपछि बोल्दै यादवले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा जीवनप्रकाश पाण्डेयको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। भैरहवा आएपछि पाण्डेयले आफूलाई दिएको अवसर र गरेको विश्वासका कारण राष्ट्रियस्तरमा समेत राजनीतिक सेवा गर्ने अवसर पाएको उहाँले स्मरण गर्नुभयो।

यादवले आफूले राजनीतिलाई समाजसेवाको माध्यमका रूपमा लिँदै आएको बताउनुभयो। भैरहवामा व्यवसायसँगै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएर काम गर्दै आएको उल्लेख गर्दै उहाँले आफू कुनै एउटा क्षेत्र वा समुदायमा मात्र सीमित नभई सामाजिक तथा विकासका विभिन्न क्षेत्रमा योगदान गर्दै आएको बताउनुभयो।

“राजनीति एउटा माध्यम हो। मैले पार्टीको हिसाबले मात्र समाजमा काम गरेको छैन,” यादवले भन्नुभयो, “भैरहवाका विभिन्न क्षेत्रमा आफ्नो तर्फबाट योगदान गर्ने प्रयास गर्दै आएको छु।”

उहाँले सिद्धार्थनगरका स्थानीय विकासका विषयलाई आगामी दिनमा पनि प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राजनीतिक जिम्मेवारीसँगै स्थानीय बासिन्दाका समस्या समाधान तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने उहाँको भनाइ थियो।

जसपा र लोसपा समायोजनपछि आफूलाई पुनः जिल्ला अध्यक्षको जिम्मेवारी दिएकोमा यादवले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा संगठनलाई थप व्यवस्थित बनाउँदै सामाजिक क्षेत्रमा समेत सक्रिय रहने बताउनुभयो।

कार्यक्रम पश्चिमाञ्चल जीवनयोग प्रयोगशालाका कार्यवाहक अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षता तथा जीवन विज्ञान परिषद् रुपन्देहीका अध्यक्ष खगनाथ गैरेको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रयोगशालासँग आबद्ध पदाधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२६-०९-२४ , समय : १६:३६:४४ , ५९ मिनेटutes अगाडि