रुपन्देही खबर , ६०४ पटक हेरिएको
भैरहवा, मंसिर १७
रुपन्देहीको रोहिणी गाउँपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन बन्ने भएको छ । गाउँपालिकाको ३ कठ्ठा र जिल्ला समन्वय समिति रुपन्देहीको ४ कठ्ठा गरी ७ कठ्ठा जग्गामा भवन बन्न लागेको हो ।
शनिबार गाउँपालिकाको प्रशासनिक भवनको भूमि पूजन गरिएको छ । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ती हरिजन, प्रवक्ता वीर बहादुर क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, निवर्तमान अध्यक्ष सनोज कुमार यादव, वडाअध्यक्षहरु लगायतले संयुक्त रुपमा भूमि पुजन गरेका हुन् ।
अण्डरग्राउण्ड पार्किङसहित ६ तल्ले भवन निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताउनु भएको छ । उहाले भवनमा बैंकको एक्सटेन्सन काउण्टरका साथै भोलिका दिनमा थप हुने सेवालाई मध्यनजर गर्दै ठाउँ छुट्याइएको जानकारी दिनु भएको छ । त्यस्तै गाउँपालिका भवन परिसरमा मन्दिर समेत निर्माण गरिने उहाले बताउनु भयो । भवनको डीपीआर स्वीकृत भएपछि संघबाट बजेट माग गरिने गौतमले बताउनु भएको छ ।
गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी गाउँपालिका–३ स्थित धकधईदेखि ५०० मिटर पश्चिम भैरहवा परासी सडकखण्ड अन्तर्गत भवन निर्माण हुन लागेको बताउनु भएको छ । आफ्नो कार्यकालमा गाउँपालिकाको प्रशासनिक भवन, १५ शैयाको अस्पताल, खेलमैदान तथा शिक्षा, खानेपानी, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकता राख्दै काम अघि बढाएको बताउनु भयो । उहाले ३ वर्षमा गाउँपालिका भवन निर्माण सम्पन्न हुने बताउनु भएको छ ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट २ करोड ४० लाख र गाउँपालिकाबाट आर्थिक वर्ष २०७९÷०८० मा १ करोड ३० लाख विनियोजन गरिएको जानकारी दिनु भएको छ । उहाले सर्वप्रथम बाउन्ड्री वालको काम सम्पन्न गरिने जानकारी दिनु भएको छ। करिब १५ करोडको लागतमा भवन निर्माण हुने उहाले जानकारी दिनु भयो ।
रोहिणी गाउँपालिकाका निवर्तमान अध्यक्ष सनोज कुमार यादवले वर्तमान गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको नेतृत्वमा गाउँपालिका भवन निर्माणको थालनी भएको र सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनु भएको छ। उहाले विगतमा पनि गाउँपालिकाले प्रशासनिक भवनका लागि धेरै पहल गरेको बताउनु भयो । ’उहाले गाउँपालिका भवन पुग्ने सडक निर्माणका लागि जग्गा प्रदान गर्ने स्थानीयबासीलाई धन्यवाद समेत दिनु भएको थियो ।
जिल्ला समन्वय समिति रुपन्देहीका निवर्तमान उपप्रमुख पशुपतिनाथ यादवले विगतमा भएका प्रयास सार्थक भएको बताउनु भएको छ । उहाले गाउँपालिकाको आफ्नै भवन निर्माण हुनु गर्वको विषय भएको बताउनु भएको छ ।
प्रकाशित मिति: २०२२-१२-०३ , समय : २३:१७:२० , २ वर्ष अगाडि