गोपिगंज–त्रिवेणी हुलाकी सडकको कलभर्टमा कमसल निर्माण सामाग्री प्रयोग

हुसेन अन्सारी , २२६  पटक हेरिएको

परासी, मंसिर २६

ठकेदारले हुलाकी सडकमा कमसल निर्माण सामाग्री प्रयोग गरेको पाइएको छ । ठेकदारले हुलाकी सडकमा निर्माण भैरहेको कल्भट र ढलहरुमा कमसल निर्माण सामाग्री प्रयोग गरि अनियमितता गरिरहेको स्थानियले आरोप लगाएका छन् । पश्चिम नवलपरासीको गोपिगंज–त्रिवेणी हुलाकी सडकमा निर्माण भैरहेको कल्भर्ट, ढलहरुमा ठेकदारले दोयम र सेम ईट्टा प्रयोग गरिरहेको छ भने सोलिङ्ग र रिटर्निङ्ग वालमा स्थानिय नारायणी नदीको चिल्लो ढुङ्गा, गिट्टी र बालुवाहरु प्रयोग गरेको स्थानियले आरोप लगाएका छन् ।


नारायणी नदीमा ठेक्का लाग्दैन तर पनि ठेकदारले स्थानिय तस्करहरुको मिलोमतोमा अवैध निर्माण सामाग्रीहरु सस्तोमा खरिद प्रयोग गरिरहेको छ । नारायणी नदीको ढुंगा, गिट्टी, बालुवाहरु उत्खनन तथा विक्री वितरण अवैध रहेपनि ठेकदारले बजेट पचाउन यस्तो सामाग्रीहरु स्थानिय तस्कर मार्फत सस्तोमा खरिद गरि खुलेआम प्रयोग गरिरहेको छ भने अव्वल ईट्टाकोे ठाउँमा दोयम र सेम ईट्टा प्रयोग गरिरहेको पाइएको छ ।

यसरी ठेकदारले कल्भर्ट, रिटर्निङ्ग वाल, ढलमा कमसल निर्माण सामाग्री प्रयोग गरिरहेको स्थानियको आरोप छ । यसका लागि सम्बन्धित निकायबाट कुनै प्रकारको अनुगमन छैन । यसरी कमसल सामाग्री प्रयोग भएको संरचना कतिको बलियो हुने हो भनि अनुगमनकर्ता निकाय माथि प्रश्न चिन्ह खडा भएको छ ।

१५ किलोमिटर दुरीको उक्त हुलाकी सडक तल बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका हुदै बिनयीत्रिवेणीको रानी नगरलाई लाई जोडेको छ । उक्त हुलाकी सडक निर्माणका लागि बज्रगुरु महालक्ष्मी जेभी ललितपुरले ४९ करोड, ६७ लाख ६२ हजार ५४६ रुपैयामा ठेक्का लिएको छ ।

बाटो निर्माणका लागि ठेकदार कम्पनीले २०७६ मंसिर १ गते सम्झौता गरि २०७९ मंसिर १ गतेसम्म सम्पन्न गर्नु पर्ने म्याद रहेको छ । साढे ३ बर्षको म्याद सकिएपनि हालसम्म जम्मा करिब ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ । यस ठेक्काको म्याद यहि मंसिर १ गते सकेको छ । बाटो निर्माणमा ढिलाईले उक्त निर्माणधिन सडक हिलाम्मे र धुलाम्मे हुँदा स्थानियहरु हैरानी खेप्नु बताउछन् ।

प्रकाशित मिति: २०२२-१२-१२ , समय : ०९:१८:४५ , २ वर्ष अगाडि