उर्मिला यादव यात्री , ४१४ पटक हेरिएको
भैरहवा, पौष २
पत्रकारले समाबेशी र लैंगिक रुपान्तरण रिर्पोटिंग गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । संचारिका समूह नेपालको आयोजनामा बुटवलमा भएको प्रजनन स्वास्थ्य र नेतृत्व बिकास सम्बन्धी तिन दिने तालिममा सहभागीहरुले सो कुरा बताएका हुन । मिडियामा महिला सहभागिता पहिलेको तुलनामा अहिले राम्रो भएकोले पत्रकार महिलाको लेखनसँगै नेतृत्व विकास गर्न पनि आवश्यक रहेकोमा जोड दिइएको छ ।
यस्तै गरी तालिमका प्रमुख अतिथी आन्तरिक मामिला, कानून तथा संचार मन्त्रालयका सचिव कोमल धमलाले समाजमा अझै पनि लिंगको आधारमा बिभेद रहेकोले यसलाई हटाउन अवस्था र ब्यवस्था बिचको खाडल पुर्नु पर्ने बताउनु भएको छ । उहाले पुरुष भन्दा महिलाले नेतृत्व लिएका संघसंस्थाहरु ७३ प्रतिशत बढी प्रभावकारी र बलियो रहेको बताउदै महिलाले नेतृत्व गर्ने संस्थाको लागी मन्त्रालय हरपल सहर्काय गर्न तयार रहेको बताउनु भएको छ । उहाले महिलाले नेतृत्व गरेको संस्थामा अनियमितता, विवाद नहुने भएकाले अब महिलाहरु नेतृत्वमा आउनुपर्ने जोड दिनु भयो ।
यस्तै गरी तालिममा संचारिका समूह नेपालका अध्यक्ष बिमला तुम्खेवाले सामाजिक र पारिवारिक हिसाबले पत्रकार महिलाहरुलाई पत्रकारिता क्षेत्रमा अवसर संगै चुनौती पनि धेरै रहेकोले मेहनतका साथ पेशामा लाग्न आग्रह गर्नुभएको छ । उहाले मिडिया हाउसमा पत्रकार महिलाहरुको संख्या पहिलेको तुलनामा उल्लेख्य रहेकोले देशैभर पत्रकार महिलाको आवाज एक भएर जानुपर्नेमा जोड दिनु भएको छ । अबको नेतृत्व तहमा पत्रकार महिलाहरु आउनुपर्ने उहाको भनाइ छ ।
संचारिका समूहका महासचिव बसन्ती बास्तोलाले पत्रकार महिलाहरु नेतृत्वदायी भूमिकामा पुग्नका लागी लक्ष्य निर्धारण गर्नुपर्ने बताउनु भएको छ । उहाले लामो समय देखि पत्रकारिता गर्दै आएका पत्रकार महिलाहरु पेशाबाट पलायन भएकाले मेहनत र लगावको साथ लेखन कार्यलाई निरन्तरता दिदै सम्पादक, ब्युरो चिफ, स्टेसन म्यानेजर लगायत नेतृत्वदायी भुमिकामा पुग्नका लागी लक्ष्यका अघि बढनुपर्ने बताउनु भएको छ । उहाले पत्रकार महिलाको नेतृत्व बिकासको लागी संचारिकाले बिभिन्न र्काय गर्दै आएको बताउनु भएको छ ।
यस्तै गरी संचारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले पत्रकार महिलाको क्षमता विकासका लागि प्रदेश र जिल्ला अन्तर्गतका निकायसँग समन्वय गरी निरन्तर काम गर्दै आएको जानकारी दिनु भएको छ ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा पहिलो दिन नेपाल चेकका सम्पादक दीपक अधिकारीले सम्पादकीय क्षमता, सम्पादक र संवाददाता बीचको सम्बन्ध लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो भने न्युज एजेन्सी नेपालका अध्यक्ष कृष्णा पौड्यालले प्रजनन स्वास्थ्य र नेतृत्व बिकास , संचार माध्यममा पत्रकार महिला नेतृत्वको चुनौती लगायतको बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
यस्तै गरी प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा महिला र नेतृत्व विकासका बिषयमा सहजीकरण गर्नु भएको थियो । यस्तै गरी तेस्रो दिन अधिवक्ता शर्मिला श्रेष्ठले यौन तथा प्रजनन स्वास्थ्य र कानुनी ब्यवस्थाका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
सञ्चारिका समूह नेपालको आयोजना तथा आइपासको आर्थिक सहयोगमा बुधबारबाट सुरु भएको तालिममा लुम्विनी प्रदेशका १२ वटै जिल्लाका पत्रकार महिलाहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२२-१२-१७ , समय : ०२:१३:२६ , २ वर्ष अगाडि