रुपन्देहीको ओमसतियामा चौथो ओमसतिया कला संस्कृति महोत्सव २०७९ हुने

रुपन्देही खबर , ३७७  पटक हेरिएको

भैरहवा , पुस ५

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा रहेको श्री रामजानकी मन्दिर रंगशालामा चौथो ओमसतिया कला संस्कृति महोत्सव २०७९ हुने भएको छ। श्री रामजानकी मन्दिर रंगशाला समिति र ओमसतिया वडा नम्बर ६ कार्यालयको संयुक्त बसेको बैठकले यही माघ १ गते देखि महोत्सव गर्ने निर्णय गरेको छ ।

स्थानीय कला संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यका साथ मेला आयोजना गर्न लागेको ६ का वडाध्यक्ष शिव कुमार धवलले जानकारी दिनु भएको छ। कोभिड -१९ को कारण रोकिएको मेला फेरि यो बर्षबाट लगाइने भएको हो । मेलामा थारु समुदायको झुमडा नाच र माघी पर्वमा आधारित रहने आयोजकले जनाएको छ ।

यस्तैगरी मेलामा कुस्ती प्रतियोगिता पनि हुने जनाइएको छ । कुस्ती प्रतियोगितामा नेपालका चर्चित पहलवान बसन्त थापा, देव थापा र भारतका ख्याति प्राप्त पहलवानहरुको सहभागीता रहने वडाध्यक्ष धवलले जानकारी दिनुभएको छ ।

यस्तै गरी स्थानीय मेलामा स्थानीय कलाकार तथा भारतीय प्रसिद्ध कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । ओमसतिया वडा नम्बर ६ का वडाध्यक्ष शिव धवलले स्थानीय सीप बिकास र प्रवर्द्धनलाई प्राथमिकता दिएर मेला आयोजना गरिएको बताउनु भएको छ । उहाले यो मेलाले ओमसतियाको संस्कृति संरक्षण र प्रबर्द्धन हुने समेत जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२२-१२-२० , समय : २०:०३:५६ , १ वर्ष अगाडि