एक बर्ष भित्रमा रुपन्देहीमा ६ सय ५५ वटा मानवअधिकारको घटना अभिलेखीकरण

उर्मिला यादव यात्री , ३५४  पटक हेरिएको

भैरहवा, पुस १२

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीले एक बर्ष भित्रमा रुपन्देहीमा ६ सय ५५ वटा मानवअधिकारको घटना अभिलेखीकरण गरेको जनाएको छ । इन्सेकले नेपाल मानवअधिकार बर्षपुस्तक २०२३ का लागी संकलित घटनाको प्रकाशन पुर्व समिक्षा कार्यक्रममा ६ सय ५५ वटा मानवअधिकारको घटना अभिलेखीकरण गरेको जनाएको हो । जसमा बालअधिकार सम्बन्धी बलात्कारका ३४, यौन र्दुब्यवहारका १२ गरी ४६ वटा, महिला अधिकार सम्बन्धी बलात्कार २६ वटा र बलात्कार प्रयास १४ वटा गरी ४० वटा रहेका छन । यस्तै गरी अपहरण तथा शरीर बन्धक एक, बहुबिवाह ५, बालबिवाह १, जबरजस्ती गर्भपतन १, र घरेलु हिंसाबाट ५ सय ५१ जना पिडित रहेको इन्सेक रुपन्देहीले जनाएको छ । यस्तै गरी १० जना पुरुष पनि हिंसामा परेको इन्सेकको तथ्यांकमा उल्लेख छ ।

इन्सेक जिल्ला प्रतिनिधि रीमा बि.सीले रुपन्देही जिल्लामा मानव अधिकारको अवस्था २०७८ पुस १६ गते देखि २०७९ पुस १० गते सम्ममा राज्य पक्षबाट हुने मानव अधिकार उल्लंघनका घटनाहरु एकदमै कम र सन्तोषजनक रहेको बताउनु भएको छ । उहाले गैर राज्य पक्षबाट हुने महिला तथा बालबालिका सम्बन्धी घटनाहरु बढेको बताउनु भएको छ ।

यस्तै गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले मानवअधिकारको संरक्षण र प्रवद्र्धनका लागि आफुहरु संवेदनशील भएर लागेको बताउनु भएको छ । उहाले आम नागरीकको आधारभुत अधिकार संरक्षण गर्दा कहिलेकाही समस्या आउने गरेको पनि बताउनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले कारागार हटाउदै लैजानुपर्ने बताउनु भएको छ । समाजमा अमन चयन, शान्ति सुरक्षा र अपराधिक क्रियाकलाप नभएको खण्डमा कारागार हटाउनुपर्ने बताउनु भएको छ ।
कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राख्नु आफुहरुको बाध्यता भएकोले कारागारको स्तान्तरण गर्ने गरी ओमसतिया गाउँपालिकासँग समन्वय तथा प्रक्रिया अगाडी बढेको भन्दै छिटो भन्दा छिटो कागागारलाई स्तान्तरण गरी सुधारगृहका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

उहाले बालसुधार गृहको अहिलेको अवस्था सुधार गृह भन्दा पनि यातना गृहको जस्तो भएकोले यसलाई नीतिगत रुपमै सुधार गरेर अगाडी बढनुपर्ने बताउनुभयो । उहाँले बालसुधार गृह स्थानीय प्रशासन अन्तरर्गत नभएकोले प्रशासनिक हिसाबले केही गर्न नसकिएको बताउनुभयो ।

बालसुधार गृहलाई स्थानिय प्रशासन संग जोडेर राख्न सकेमा यसलाई प्रत्यक्ष नियन्त्रणमा राख्न सकिने र बालसुधार गृहमा हुने अपराधिक क्रियाकलापलाई धेरै हद सम्म नियन्त्रण गर्न सकिने उहाले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले शिक्षा, स्वास्थ्य जस्ता नागरिकको अत्यआवश्यक सवालमा धेरै कमि कमजोरीहरु भएकोले स्थानिय सरकारले यसको निगरानी गर्नुपर्ने बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले नागरिकका आधारभूत अधिकारका विषयमा नागरीक समाजले स्थानीय सरकारलाई घच्घच्याउन र वाचडगको रुपमा हेर्नुपर्ने बताउनु भएको छ भने स्थानिय निकायका संघसंस्थाहरुले यसलाई खबरदारी गर्नुपर्ने बताउनु भएको छ ।

यस्तै गरी सशस्त्र प्रहरी वल सीमा सुरक्षाका एसपी गगन श्रेष्ठले पहिलाको र अहिलेको प्रहरी धेरै फरक भएको बताउदै किसानहरुलाई मलखाद ल्याउने क्रममा धरपकड नगरी किसानको मर्कालाई बुझेर सहजीकरण गरेको बताउनुभयो । यस्तै गरी राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका निमित्त प्रमुख दिपक ठाकुरले इन्सेकले गरेको अभिलेखमा सबै कुरा समेटिएकोले त्यसको निरन्तरता र किसानका सवालहरुलाई पनि अभिलेख गर्न सुझाव दिनुभएको थियो ।

नेकपा एमाले जिल्ला कमिटी उपसचिव हितराज पन्थीले इन्सेकले मानवअधिकारको क्षेत्रमा पुरयाएको योगदान र मानवअधिकार उल्लंघनका घटनाहरुको अभिलेखिकरण गरेकोमा धन्यवाद दिंदै आगागी दिनमा मानवअधिकार उल्लंघनका कारण खोतल्न र राज्यका तिनवटै अंगहरुको कार्यको पनि अनुगमन गरेर प्रतितिवेदनमा राख्न र न्यायको विषयमा प्रतिवेदनमा राख्न सुझाव दिनुभयो ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुद्र जिसीले नागरिकहरु अहिले पनि स्वस्थ्य र गुणस्तर खाद्य वस्तु खान नपाएको भन्दै स्थानीय तहले अनुगमन र चासो नदिएको गुनासो गर्दै यस विषयमा नागरीक आफै सचेत हुन र इन्सेकले यो बिषय उठान गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा रुपन्देहीका विभिन्न क्षेत्रका ३२ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२२-१२-२७ , समय : ०९:५२:३९ , १ वर्ष अगाडि