लुम्बिनीमा आजदेखि हुने भनिएको रामकथा प्रवचन यहि माघ २४ गते देखि हुने

रुपन्देही खबर , ५७७  पटक हेरिएको

भैरहवा, माघ २१

बुद्ध जन्मस्थल लुम्बिनीमा आज शनिबारदेखि हुने भनिएको रामकथा प्रवचन यहि माघ २४ गते हुने भएको छ । आयोजक राम कथा प्रेम यज्ञ समितिले रामकथा प्रवचन तीन दिनपछि सरेकोले यही माघ २४ गते मंगलबारदेखि प्रवचन कार्यक्रम हुने जनाएको छ ।

आज माघ २१ गते देखि २९ गतेसम्म लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने भनिएको प्रवचन माघ २४ गतेदेखि फागुन ३ गतेसम्म आयोजना हुने गरी तयारी भएको आयोजकले जनाएको छ । कथा आयोजक समितिले सञ्चालन गर्ने भण्डारा भने पूर्ववत रुपमा आज २१ गते शनिबारदेखि नै सञ्चाल गर्ने जनाएको छ ।


९ दिनसम्म हुने प्रवचनमा भारत तथा नेपालका २ हजार बढी श्रद्धालुको सहभागिता रहने राम कथा प्रेम यज्ञ समिति, लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले जानकारी दिनु भएको छ । लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको कार्यक्रममा आध्यात्मिक गुरु मोरारीको ९१२ औं राम कथा आयोजना हुन लागेको हो । ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहनु भएको उहाले सबै धर्मका प्रमुख तीर्थस्थलहरू एवं प्रमुख स्थानहरूमा प्रवचन गर्दै आउनु भएको छ।

अभियान अन्तरगत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । यसअघि सन २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । यसैगरी काठमाण्डौं र भुसुण्डी सरोवर (तिलिचो ताल) मा समेत राम कथा बाचन भइसकेको छ ।

लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै कार्यक्रमका अवसरमा विश्व शान्तिको कामना गर्दै ९१२ वटा विरुवा लगाउने कार्यक्रम भएको संयोजक अग्रवालले जानकारी दिनु भयो ।

यसअघि सन २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । कार्यक्रमको चर्चित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको आयोजक प्रतिनिधि विकास केडियाले जानकारी दिनु भयो । कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत सीमावर्ती भारतीय शहर तथा गाँउहरुबाट समेत कथा श्रवणका लागि सर्वसाधारणहरुलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा आधा बढी पहिलोपटक लुम्बिनीमा प्रवचन सुन्नका लागि आउने आयोजकको दावी छ । यो कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०२३-०२-०४ , समय : ०६:२६:१२ , २ वर्ष अगाडि